समाचारसोमबार, बैशाख ७, २०७२
राष्ट्रपतिद्वारा मानपदवीबाट सुशोभन
राष्ट्रपति रामवरण यादवले गत वर्षको गणतन्त्र दिवसका अवसरमा घोषणा गरिए अनुसार मानपदवीबाट विभूषित हुने विभिन्न व्यक्तिलाई आज सुशोभन गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ‘नेपालरत्न’ पदवी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) लाई प्रदान गरियो ।
कोइरालाका छोरी पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सो पदवी ग्रहण गरिन् । शान्ति प्रक्रियाको थालनी र लोकतान्त्रिक गणतन्त्र स्थापनामा कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘महाउज्ज्वल’ (प्रथम) अन्तरिम मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व उपप्रधानमन्त्री शैलजा आचार्य (मरणोपरान्त) र पूर्वमन्त्री भीमबहादुर तामाङ (मरणोपरान्त) लाई प्रदान गरियो ।
‘उज्ज्वल कीर्तिमय राष्ट्रदीप’ (द्वितीय) बाट पूर्वमन्त्रीहरू माधवप्रसाद घिमिरे, साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्व मन्त्रीहरू ऋद्धिबाबा प्रधान, विद्याधर मल्लिक, माधवप्रसाद पौडेल, शङ्करप्रसाद कोइराला, छविराज पन्त, टेकबहादुर थापा घर्ती, रामकुमार श्रेष्ठ, उमाकान्त झालाई सुशोभन गरियो ।
यस्तै सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, व्यवस्थापिका–संसद् सचिवालयका महासचिव, मनोहरप्रसाद भट्टराई, उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन आयोगका अध्यक्ष काशीराज दाहाल, निर्वाचन आयुक्तहरू दोलखबहादुर गुरुङ, डा अयोधीप्रसाद यादव, ईला शर्मा, पूर्व आयुक्त डा रामभक्त पिबी ठाकुरलाई पनि ‘उज्ज्वल कीर्तिमय राष्ट्रदीप’ (द्वितीय) बाट सुशोभन गरियो ।
यसैगरी, ‘सुप्रबल जन सेवाश्री’, ‘प्रबल जन सेवाश्री’ (प्रथमदेखि पाँचौँसम्म) का विभिन्न तहबाट विभूषित हुनेमा अधिकांश विभिन्न पूर्व सचिव तथा सरकारी निकायका कर्मचारी छन् ।
सामाजिक क्षेत्रबाट समाजसेवी डा पुष्पा बस्नेत, प्राध्यापक धर्मेन्द्रकुमार कर्ण, प्राध्यापक इन्द्रप्रसाद तिवारी, साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, नेपाल टेलिभिजनका अध्यक्ष नीर शाह, सङ्गीतकार शम्भूजीत बाँस्कोटा, प्राज्ञ रामकृष्ण दुवाल, गीतकार श्याम तमोट, गायिकाहरू हरिदेवी कोइराला, कोमल वली, टीका पुन, साहित्यकार शान्ति चौधरी, स्वामी कृष्णदासजी महाराज, खेलाडी भरतबहादुर विसुराल, पत्रकार आरती चटौत, प्रताप विष्टलगायत छन् ।
मान पदवी गत १५ जेठ २०७१ मा घोषित गरिएका थिए । समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो ।
विभूषणसम्बन्धी व्यवस्थापन र सिफारीसको कार्य गृह मन्त्रालयले गर्दै आएको छ ।
