समाचारसोमबार, बैशाख ७, २०७२
स्थानीयले ‘शेयर’ खोज्दै तीनवटा जलविद्युत आयोजना बन्द गराए
लमजुङमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनामा स्थानीयबासीले ‘हक’ खोज्दै अनिश्चितकालिन बन्द गराएका छन् ।
पूर्वी लमजुङको दोर्दी करिडोरमा निर्माणाधिन जलविद्युत आयोजनाका कार्यालयहरुमा माग पत्र बुझाउँदै दोर्दीखोला सरकोकार समितिले आयोजनाको काम बन्द गराएको हो ।
मागपत्रमा आयोजनामा काम गर्ने मजदूरले ८ घण्टा काम गरेवापत दैनिक ७ सय रुपैयाँ ज्याला पाउनु पर्ने, १० प्रतिशत शेयर स्थानीलाई दिनुपर्ने, प्रभावित क्षेत्रका वासिन्दाले प्रतिघर न्युनतम एक लाखको शेयर बैंक ग्यारेण्टी हुनुपर्ने, रोगजारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने लगायतका बुँदाहरु समावेश छन् ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा पनि योजनाबद्ध रुपमा लगानी गर्नुपर्ने, उत्पादनको दश प्रतिशत प्रत्यक्ष गाविसले पाउनुपर्ने लगायतका मागहरु समेत समेटिएको सरोकार समितिका अध्यक्ष चिनबहादुर गुरुङले बताए ।
मागपत्रमा कुल लागतको तिन प्रतिशत प्रभावित क्षेत्रको विकासमा खर्चनुपर्ने, विद्युत रोयल्टीको ५० प्रतिशत रकम प्रभावित गाविसमा पठाउनुपर्ने बुँदा समेत छन् ।
दोर्दी करिडोरमा अहिले तिन वटा जलविद्युत आयोजना निर्माणाधिन छन् भने एउटा निर्माणमा जाने तयारीमा छ ।
३२ करोडको लगानीमा २ मेगावाट क्षमताको छ्याङदी जलविद्युत आयोजना जेष्ठ मसान्त भित्र सक्ने लक्ष्य राखिएको छ ।
यस्तै २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण थालिएको छ । उक्त आयोजनाको लागत ३ अर्व ९६ करोड रहेको छ भने तीन बर्ष भित्र निर्माण सक्ने लक्ष्य राखेको छ । यस्तै ४९ दशमलव ६ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनामा ८ अर्व रुपैयाँ लगानी हुँदैछ ।
यी तिनवटै आयोजना ७ वैशाखदेखि सरोकार समितिले बन्द गराएका छन् ।
यसैगरी दोर्दी खोलामा २७ मेगावाट क्षमताको तल्लो दोर्दीखोला जलविद्युत आयोजना पनि निर्माण गर्ने तयारी भईरहेको छ ।
युवराज श्रेष्ठ, लमजुङ
