समाचारसोमबार, बैशाख ७, २०७२
कांग्रेस पहिचान विरोधी होइन: सभासद् तामाङ
सभासद् दिलमान तामाङले नेपाली कांग्रेस पहिचान विरोधी नभएको बताएका छन् ।
नेपाल तामाङ घेदुङले ७ वैशाखमा काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभासद तामाङले नेपाली कांग्रेसले तामाङ समुदायको बाहुल्य भएको क्षेत्रमा ती समुदायको पहिचान झल्किने गरी बहुपहिचानयुक्त प्रदेश हुनुपर्ने धारणा राखेको स्पष्ट पारे ।
नेपाली कांग्रेसभित्रका जनजाति सभासद् र अन्य सभासद्बीचको विचारमा खासै विरोधाभास नरहेको पनिले उनले उल्लेख गरे ।
नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोन तामाङले पहिचान विरोधी शक्तिले प्रचार गरेझैं आफूहरू एकल जातीय पहिचानको पक्षमा नरहेको स्पष्ट गर्दै तामाङ समुदायको बाहुल्य रहेको क्षेत्रमा उनीहरूको पहिचान हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङको आठौँ राष्ट्रिय महाधिवेशन वैशाख १२ देखि चितवनमा हुने जानकारी दिइयो ।
विश्वमा ५५ लाखको सङ्ख्यामा रहेका तामाङहरू नेपालमा ३० लाखभन्दा बढी रहेको र यो जनसङ्ख्याको दृष्टिले पाँचौ ठूलो जनजाति हो ।
महाधिवेशनमा देशका विभिन्न ५२ जिल्लाका ९९४ प्रतिनिधि र पर्यवेक्षकले भाग लिने बताइएको छ ।
