समाचारमंगलबार, बैशाख ८, २०७२
बारामा बस दुर्घटना हुँदा ३ को मृत्यु, १६ घाइते
काठमाडौँबाट सर्लाहीको मलङ्गवाका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने यात्रुहरुको मृत्यु भएको छ ।
मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार काठमाडौँबाट ७ वैशाख साँझ छुटेको ना ४ ख ४५१६ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पिलुवा नजिकै दुर्घटनाग्रस्त भएको हो । बसमा सवार यात्रुका अनुसार चालक निदाएका कारण दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सर्लाहीको ब्रह्मपुरी गाविसका ४५ वर्षीय अखिल गिरी र उनकी पत्नी भवानी गिरीको घटनास्थलमा नै ज्यान गएको छ । गम्भीर घाइते भएका सर्लाहीकै लक्ष्मी पासवानलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याउँदैगर्दा ज्यान गएको छ ।
दुर्घटनामा परी अन्य १६ जना घाइते भएका मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । उनले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताए ।
घाइते चार जनाको सिमरा अस्पतालमा र बाँकीको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।
बसका चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
