समाचारमंगलबार, बैशाख ८, २०७२

जाजरकोटमा विवाह-व्रतवन्ध लगायतका कार्यक्रम नगर्न निर्देशन

हिमालखबर

तस्वीर: राजेन्द्र कार्की

तस्वीर: राजेन्द्र कार्की

जाजरकोटमा फ्लुको प्रकोप नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले धेरै मानिस भेला हुने खालका सबै कार्यक्रम नगर्न जिल्लावासीलाई निर्देशन गरेको छ ।

७ वैशाख राति रामीडाँडा- ७ का ६१ वर्षीय लालवीर नेपालीको मृत्यु भएपछि जाजरकोटमा फ्लूको प्रकोपका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्वाइन फ्लु र मौसमी रुघाखोकीको संक्रमण थप फैलनबाट रोक्नका लागि जिल्लाका सबै ठाउँमा सञ्चालन भइरहेका सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम, विवाह, व्रतबन्ध र अन्य कार्यक्रम स्थिति सामान्य नहुन्जेलसम्मका लागि बन्द गर्न प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले निर्देशन दिएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र राजधानीबाट गएका अन्य चिकित्सकहरुको टोली संक्रमण प्रभावित क्षेत्रमा पुगरे उपचार थालेपछि विरामीहरुले राहत पाए पनि संक्रमण नयाँ स्थानमा सर्दै गएको छ । शुरुमा महामारी फैलिएको पजारु, सक्ला र पैंक गाविसमा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ ठाउँमा फैलिंदै गएको छ  ।

घरका सबै विरामी हुँदा शिविरसम्म जान सकिएन
जाजरकोटको टालेगाउँमा बिरामीलाई स्वास्थ्य संस्थासम्म लाने मानिस नहुँदा बिरामी ओछ्यानमा थला परेका छन् ।

कतिपय गाउँमा घरमा भएका सबै विरामी हुँदा उपचार गर्न स्वास्थ्य संस्था ल्याउन मुस्किल भएको हो ।
स्वास्थ्यचौकी टालेगाउँमा ७ वैशाखमा मात्रै १८१ जना, नायकवाडामा १५२ जना, अर्छानीमा ९२ जना बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जनाएका छन् ।
उपचार गराइरहेका बिरामीमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको टालेगाउँ स्वास्थ्य चौकी प्रमुख प्रेमा लामाले बताए ।
बिरामीमध्ये टालेगाउँ गाविस– ७, ८ र ९ का बिरामी स्वास्थ्य संस्था ल्याउनमा समस्या भएको छ ।

यो स्थान स्वास्थ्य संस्थाभन्दा धेरै टाढा भएका कारण बिरामीलाई स्वास्थ्य शिविरसम्म बोकेर ल्याउनेसमेत कोही छैनन् । स्थानीय हिमाल सिंहका अनुसार घरमा बिरामी परेकाको अवस्था दयनीय हुँदै गएको छ ।

स्वास्थ्य चौकी टालेगाउँमा इञ्चार्ज लामाले दिएको जानकारी अनुसार ७, ८ र ९ नं वडामा शिविर चलाउने तयारी भइरहेको छ । जाजरकोट सदरमुकामबाट सोमबार हेलिकप्टरमार्फत औषधि र थप स्वास्थ्यकर्मी थपिएको छ ।

यहाँको स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या थेग्न नसकेका कारण बाहिर चौरमै राखेर उपचार भइरहेको लामाले बताए ।

दिनरात उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार शुरु गरे पनि राज्यका तर्फबाट सेवा सुविधा केही नभएको बताएका छन् ।

चिकित्सकहरु विरामी परेपछि सदरमुकाम फर्किए

यस्तै, पजारुमा खटिएका पाटन अस्पतालका डा प्रनिलमान सिंह प्रधान, अर्छानीमा खटिएका चौरजहारी सामुदायिक अस्पतालका डा सुमन राई नेतृत्वको टोली र टालेगाउँमा खटिएका सेनाका डाक्टर डा प्रणय कार्की, सक्ला गाविसमा खटिएको विश्व स्वास्थ्य सङ्गठनका डा गुणनिधि शर्मालगायतका टोली बिरामी भएर सदरमुकाममा फर्किएका छन् ।

डा अच्यूत आचार्य र डा ज्ञानेन्द्र नेपालीले आइतबार हेलिकप्टरबाट नायकवाडा र रोकायगाउँको लिम्सामा पुगेर उपचार शुरु गरेका नायकवाडा उपस्वास्थ्य चौकी नायकवाडाका प्रमुख गणेश खड्काले जानकारी दिए ।

आइतबारदेखि जिल्लाको दशेरा, मजकोट र पजारुमा वीरअस्पतालबाट आएका डा दुर्गा ढुङ्गाना, डा कमलराज थापा, डा कल्याण सापकोटा खटेर उपचार गरिरहेका छन् ।

पैकमा डा राजेन्द्र जिसी, डा चन्द्र खड्का, डा लक्ष्मी पौडेल, डा विनोद शर्मा, डा भरत बोहरा र डा प्रेम चौधरी उपचारमा खटिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>