समाचारबुधबार, बैशाख ९, २०७२
नौबिसे बस दुर्घटना: मृतकको संख्या १७ पुग्यो (अपडेट)
काठमाडौंबाट गोरखपुर जाँदै गरेको बस धादिङ र काठमाडौंको सीमा जोडिने झ्याप्ले खोलाबाट ३०० मिटर तल खस्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
पशुपति दर्शन गर्न आएका भारतीय तिर्थयात्रु बोकेर ९ वैशाख विहान भारतको गोरखपुरतर्फ जाँदै गरको जीजे १४ एक्स ९९०० नम्बरको भारतीय बस धादिङको झ्याप्ले खोला (नौबिसे नजिकको ओह्रालो) भीरबाट खस्दा १७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा आठ महिला र नौ पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
तेह्र जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको दुईतले बस नौबिसे गाविस वडा–८ झ्याप्ले खोलास्थित सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको हो । एक सवारी साधनलाई उछिनेर अर्को मोटरसाइकललाई ठाउँ दिन खोज्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जनाको अवस्था निकै गम्भीर रहेको उद्दारमा खटिएका प्रहरी निरीक्षक शंकरसिंह रावलले जानकारी दिए ।
बस त्रिभुवन राजपथबाट करिब ३०० मिटर तल खोंचमा खसेकोले उद्दार कार्यका लागि कठिनाई भइरहेको छ ।
प्रहरी निरीक्षक रावलका अनुसार बसको पछिल्लो भाग पुरै कुच्चिएकोले केही यात्रु बसभित्रै थिचिएको हुनसक्ने अनुमान गरिएको छ । अहिले बसको पछिल्लो भाग काट्ने प्रयास भइरहेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्दारको काममा खटिएका छन् ।
सानुबाबु तिमिल्सना, धादिङ
