समाचारबिहीबार, बैशाख १०, २०७२

सगरमाथा आधार शिविरमा ५१० आरोही

हिमालखबर

everest-base-camp-trekसगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि सगरमाथा आधार शिविरमा ५१० आरोही पुगेका छन् ।

तीनै वटा हिमालको आधार शिविर एउटै रहेकाले अहिले सगरमाथा आधार शिविरमा ५१० आरोही, उनीहरुका आरोहण सहयोगी, भान्छा सहयोगी, भरिया, सम्पर्क अधिकृतलगायत गरी करिब एक हजार ५०० मानिस जम्मा भएका छन् ।

यसमध्ये सगरमाथा आरोहणका लागि ४२ समूहका ३५८ आरोही, ल्होत्सेका लागि १२ समूहका ११८ र नुप्त्सेका लागि चार समूहका ३४ आरोही आधार शिविर पुगेका हुन् ।

मौसमको अनुकूलता हेरेर आगामी १ जेठको आसपासमा सगरमाथा आरोहण गर्ने तयारीका लागि आरोहीहरु आधार शिविरमा पुगिसकेको पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत गेहेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार आधार शिविरमा पुगेका आरोहीमध्ये १२८ अघिल्लो वर्ष सगरमाथाको आरोहण रद्द गरेका हुन् भने यस वर्ष अनुमति लिएका २३० जना छन् ।

अघिल्लो वर्ष आरोहण अनुमति लिएका ३२६ मध्ये हिमपहिराका कारण ३२५ जनाले आरोहण रद्द गरेका थिए । उनीहरुले लिएको अनुमति पाँच वर्षका लागि मान्य हुने सरकारले निर्णय गरिसकेको छ ।

सगरमाथा आरोहणका लागि सन् २०१० मा २८ समूहका २३७ , २०११ मा २६ समूहका २५१, २०१२ मा ३३ समूहका ३४१, २०१३ मा ३० समूहका ३४८ र २०१४ मा ३२ समूहका ३२६ जनाले आरोहण अनुमति लिएका थिए ।

अहिले आरोही सगरमाथाको दोस्रो शिविरसम्म पुग्न थालेका छन् । अघिल्लो हप्ता मौसम खराबी र हिमपातका कारण आधार शिविरमा बढेको अन्योल मौसम सफा भएसँगै हटेको छ । अहिले आरोही दोस्रो शिविरसम्म पुग्ने र फर्कने गरिरहेको जनाइएको छ ।

आरोहणका लागि आफ्नो स्वास्थ्यलाई त्यहाँको वातावरण अनुकूल बनाउनका लागि आरोही महिना दिनअघिदेखि आधार शिविरमा पुगेर बस्ने, तलमाथि हिँड्डुल गर्ने तथा दोस्रो शिविरसम्म पुगेर फर्कने गर्छन् । सगरमाथा आरोहणका लागि कम्तीमा चार दिन लगातार मौसम सफा हुनुपर्छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>