समाचारशुक्रबार, बैशाख ११, २०७२
शहीद परिवार र घाईतेले भने, “बलिदान खेर गयो, शान्ति र संविधान खोई ?”
२००७ सालदेखि २०६२/६३ सम्म पटक पटक भएका आन्दोलनमा आफन्त गुमाएका परिवार र घाईते भएकाहरुले मुलुकमा शान्ति स्थापना र संविधान निर्माण नहुँदा आफ्नो बलिदानी खेर गएको महशुस गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले ११ वैशाखमा आयोजना गरेको साक्षात्कारमा उनीहरुले मुलुकमा ठूलो परिवर्तन ल्याएको दिनलाई राज्यले बेवास्ता गरेर लोकतन्त्र दिवस समेत नमनाएको प्रति दुख पनि ब्यक्त गरे ।
२०६२÷६३ को जनआन्दोलनका शहीद सगुन ताम्रकारकी आमा जया ताम्रकारले शान्ति र समृद्धि हुन्छ भनेर आन्दोलनमा होमिएको छोराको बलिदान खेर गएको भन्दै देशले निकास पाउन नसकेकोमा दुख ब्यक्त गरिन् ।
अब कसैको पनि छोराले अधिकारको लागि मृत्यू बरण गर्न नपरोस भन्ने कामना गर्दै उनले रायमाझी आयोगले दोषी ठहर गरेकालाई कारवाहीको माग गरिन् ।
सम्पन्न देश, अधिकार सम्पन्न र सार्वभौमसत्ता सम्पन्न जनताको चाहना राखेर आफन्तले बलिदान दिए पनि नेताहरुले संविधान बनाउन नसकेर उनीहरको चाहनाको अपमान गरेको ताम्राकारको भनाई थियो ।
शहीद हेमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले लोकतन्त्र दिवसको दिन राज्यले एउटा औपचारिक कार्यक्रम समेत गर्न नसक्नु दुखद भएको भन्दै आफन्तले सहादत प्राप्त गरेकोमा गर्व रहे पनि आन्दोलनको उद्देश्य पुरा हुन नसकेकोमा खिन्नता प्रकट गरे ।
दल र नेताहरुले संक्रमणकाललाई देखाएर उम्किन खोजिरहेको उनको आरोप छ ।
“हामीहरुलाई अहिलेको यो अस्तब्यस्तता आउँछ भन्ने अनुमान समेत थिएन । अब फेरि लोकतन्त्रको लागि आन्दोलन गर्न नपरोस, कोही फेरि शहीद हुन नपरोस,” उनले भने, “दलहरुले संस्कार परिवर्तन गरे समस्याको गाँठो फुक्न सक्छ । देशलाई निकास दिंदा हार र जित केही हुँदैन ।”
शहीद प्रधुम्न खड्का कि श्रीमती प्रभा खड्काले नौ बर्ष वित्दा समेत जनताको अधिकार स्थापित गर्ने संविधान नेताहरुले दिन नसकेकोमा आक्रोश व्यक्त गर्दै शहीदहरुको बलिदानको नेताहरुले धज्जी उडाएको बताइन् । भनिन, “नेताहरुको झगडा देख्दा त आफन्त गुमाउनुको पीडामात्रै बल्झिन्छ ।”
जनआन्दोलनकी घाईते एवम शहीद पत्नी यमुनादेबी श्रेष्ठले शहीद र घाईतेहरुलाई मर्माहत बनाएर लोकतन्त्रको दिवसको विदामा नेताहरुले मोज मनाएको आरोप लगाइन् ।
बोल्दा बोल्दै बारम्बार गला अवरुद्ध भएकी उनले भनिन, “हामी पैसा पाईएला भनेर लडेका होईनौ, सबै नेपालीहरुले सुख पाउलान, शान्ति समृद्धि र विकास होला भनेर लडेका थियौ तर, राज्यले लोकतन्त्रलाई आत्मसात गर्न सकेको छैन । भोजको लागि मात्रै विदा दिएको छ ।”
घाईते मेघराज आचार्यले आन्दोलनका बेला लागेको घाउबाट अहिले पनि पिप बगिरहँदा त्यसको उपचारमा राज्य संबेदनशिल हुन नसकेको बताए । भने, “नेताहरुलाई हाच्छ्यिूँ आउँदा अमेरिका, सिंगापुर जान्छन, हाम्रो पीडा कसैले सुन्दैनन ।”
उनले थपे, “हामीले लडेर ल्याएको लोकतन्त्रमा हामी अधिकार विहिन भएका छौं ।”
शहीद ताहिर अन्सारीका छोरा असगर अलि अन्सारीले शहीद परिवारको एउटै चाहना संबिधान निर्माण होस भन्ने रहेको बताएका थिए ।
