समाचारसोमबार, बैशाख १४, २०७२
मृतकको संख्या ३ हजार नाघ्यो

१२ वैशाखमा गएको महाभुकम्पपछि काठमाडौंको आकाशमा उडेको धुलो । हात्तिबनबाट खिचिएको दृष्य । तस्वीर: बिक्रम राई/हिमालखबर
१२ वैशाखमा आएको भूकम्पले मच्चाएको विनाशबाट मर्नेको संख्या ३ हजार ३५१ पुगेको छ ।
अहिलेसम्म सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा बढीको ज्यान गएको छ ।
गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा ८७५, काठमाडौंमा ८०८, धादिंगमा २४७, नुवाकोटमा २४५, गोरखामा २२३, भक्तपुरमा २३२, काभ्रेमा १९१, ललितपुरमा १५५, रसुवामा १५०, दोलखामा ६५, रामेछापमा २९, मकवानपुर ३३, खोटाङमा १६ र ओखलढुंगामा १५ जनाको मृत्यु भएको छ ।
मृतकको संख्या अझै धेरै बढ्ने अनुमान गरिएको छ ।
उद्धार कार्य जारी
राजधानीका अस्पतालहरुमा घाइतेहरुको घुइँचो छ । विभिन्न स्थानमा भत्केका संरचनमा पुरिएका घाइतेको उद्धार र शवहरुको उत्खनन् जारी छ ।
राजधानीकै पनि कतिपय स्थानमा भत्केका संरचनामा अझै मानिसहरु पुरिएका छन् भने राजधानी बाहिरका दुर्गम गाउँहरुमा उद्धार टोली पुग्न सकेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार ध्वस्त भएका संरचनामुनि च्यापिएका मानिसहरु निकाल्ने काम शहरी क्षेत्रमा अझै पनि सकिएको छैन्।
भुकम्पबाट अतिप्रभावित जिल्ला मध्येको गोरखाका गाउँहरुमा हेलिकोप्टरबाट उद्धार तथा राहत पठाउने काम जारी नै छ ।
सगरमाथा आरोहणको तयारी गरिरहेको पर्वतारोहीहरु समेत भूकम्पपछि आएका हिमपहिरोमा परेपछि उद्धार कार्य झनै जटिल भएको छ।
हिमपहिरोका कारण सगरमाथा क्षेत्रमा पनि १७ जना आरोहीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।
काठमाडौं छोड्नेको घुइँचो
दुई दिनसम्म पनि भुकम्पको कम्पन महशुस भइरहँदा राजधानीबाट बाहिरिनेहरुको कलंकी लगायतका स्थानमा घुइँचो छ ।
बसमा ठाउँ नपाउँदा कतिपय हिंडेरै तराईतर्फ लागेका छन् । विशेषगरी तराई र भारतबाट मजदुरीका लागि आएकाहरु, काठमाडौंमा डेर बसेको घर भत्केकाहरुले काठमाडौं छोडिरहेका छन् ।
“यहाँ पानी, विजुली, खानाको समस्या छ, बसेको घर पनि भत्कियो, घर जान खोजेको बस पाइँदैन,” सर्लाहीका सदानन्दले भने ।
अधिकारीहरुका अनुसार घाइतेको संख्या ६ हजार ५ सय ३५ पुगेको छ।
ठूलो भूकम्पपछि आउने कम्पनहरु जारी रहेका बेला अन्तर्राष्ट्रिय सहयोग पनि आउने क्रम पनि बढेको छ ।
प्रभावित क्षेत्रमा हजारौं हजार मानिसहरु सीमित पानी खानेकुरा र लत्ताकपडामा निर्भर भइरहेको बेला राष्ट्रसंघीय बालकोष युनिसेफले भूकम्प प्रभावित क्षेत्रका करिब १० लाख बालबालिकाका लागि अत्यावश्यक मानवीय सहायता आवश्यक रहेको बताएको छ।
कम्पन जारी
महाभूकम्प गएको दुई दिनपछि पनि गइरहेका कम्पनहरुबाट काठमाडौं र र अन्य प्रभावित स्थानका मानिसहरुमा त्रास हट्न सकेको छैन।
हजारौं मानिसहरूले खुल्ला ठाउँमा बनाएका अस्थायी ओतमुनि रात गुजारेका छन्। राति पानी परेपछि कतिपयले भिजेरै रात विताएका छन् । त्रासका कारण घरभित्र जान नसक्नेहरु अत्यधिक छन् ।
गृह प्रवक्ता ढकालका अनुसार राजधानीमा बिजुली र पानीको आपूर्ती सहज बनाउनेतर्फ सरकारले ध्यान केन्द्रित गर्दैछ।
सहयोगका लागि भारत, चीन, पाकिस्तान र पोल्याण्डका टोलीहरु नेपाल आइसकेका छन् भने संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट पनि टोलीहरु आउन लागेको बताइएको छ। भुटानका प्रधामन्त्री छिरिंङ टोब्गे सहयोग सामग्रीसहित आफैं काठमाडौं आइपुगेका छन्।
