समाचारसोमबार, बैशाख १४, २०७२
थप राहत सामग्री र चिकित्सक चाहियो: परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालस्थित विदेशी नियोगका प्रमुखलाई भूकम्पपछिको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल सबैभन्दा बढी त्रिपाल, सुख्खा खानेकुरा, सिरक, म्याट्रेस, औषधि र पानी फिल्टरलगायत राहत सामग्री सहयोगको आवश्यकता रहेको बताएका छन् ।
मन्त्रालयमा १४ वैशाखमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले घाइतेको उपचारका लागि तत्काल हाडजोर्नी, नसा तथा सामान्य चिकित्सक, शल्यचिकित्सक र विशेषज्ञ चिकित्सक टोलीको सहयोगको आवश्यकता रहेको बताउँदै अन्तर्राष्ट्रियस्तरबाट स्वतःस्फूर्त रुपमा आएको सहयोगको प्रशंसा गरे ।
विदेशबाट आउने सहयोग टोली र राहत सामग्रीको सहज आगमनका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समन्वय गर्न विशेष व्यवस्था गरेको जानकारी गराउँदै उनले सहयोग गर्ने इच्छुकका लागि विश्वभरबाट सहज रुपमा प्रधानमन्त्री दैवी राहत उद्धार कोषको खातामा सहयोग गर्न सकिने जानकारीसमेत गराए ।
उनले हाल भत्केका संरचनाबाट जीवित व्यक्तिको उद्धार कार्य सरकारको प्राथमिकतामा रहेको अवगत गराउँदै अवरुद्ध सडक खुलाउन र भत्केका संरचना हटाउन आवश्यक ठूला उपकरणको कमिका कारण चाहेअनुसार उद्धार गर्न नसकेको बताए ।
भूकम्पले काठमाडौँ उपत्यकालगायत ११ जिल्ला बढी प्रभावित भएको र कतिपय पहाडी जिल्लामा भौगोलिक जटिलताले उद्धार र राहत सामग्री वितरणमा कठिनाइ भएको बताउँदै मन्त्री पाण्डेले त्यस्ता जिल्लामा हेलिकप्टरबाट उद्धार र राहत सामग्री वितरण गरिरहेको जानकारी दिए ।
भूकम्पको क्षतिको विवरण आउने क्रम जारी रहेको बताउँदै हालसम्म तीन हजार ७२६ जनाको मृत्यु भएको र ६ हजार ९४४ जना घाइते भएको तथा त्यसमध्ये दुई विदेशी नागरिकको मृत्यु र पाँच जना घाइते भएको जानकारी गराएका थिए ।

