समाचारसोमबार, बैशाख १४, २०७२
संयुक्त राष्ट्र सङ्घको ठूलो सहयोग आइपुग्दै
संयुक्त राष्ट्र सङ्घको खाद्य संस्थाले भूकम्प प्रभावित नेपालमा ठूलो स्तरमा क्रियाकलाप सञ्चालन गर्ने भन्दै उसको पहिलो विमान १५ वैशाख, मङ्गलबार नेपाल पुग्ने जानकारी दिएको छ ।
नेपालको आवश्यकता मूल्याङ्कन गर्न विश्व खाद्य कार्यक्रमका विशेषज्ञ आइतबार नै काठमाडौँ आइपुगेका छन् ।
नेपालका भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न संकट हुनसक्ने भन्दै यूएनले दुबइबाट पकाउन नपर्ने खाद्यान्न बाकेको विमान मङ्गलबार नेपाल आइपुग्ने जानकारी दिएको छ ।
संयुक्त राष्ट्र सङ्घीय बालकोष (यूनिसेफ) ले १० लाख बालबालिकालाई तत्कालै सहयोग आवश्यक पर्ने जानकारी दिएको छ । उसले काठमाडौँमा हजारौँ व्यक्ति खुला शिविरमा रहेको र उनीहरूमा रोग लाग्नसक्ने जोखिम भएको जानकारी दिएको छ ।
युनिसेफले दुई मालबाहक विमानमा चिकित्सा तथा अस्पतालका आपूर्ति, पाल तथा ओड्ने गरी १२० टन मानवीय आपूर्तिका साथमा आफ्नो कर्मचारी लिएर नेपाल आउन लागेको पनि जानकारी दिएको छ ।
