समाचारमंगलबार, बैशाख १५, २०७२
राष्ट्रिय विपत्का बेला यात्रु ठगी
विपत्का बेला यातायात व्यवसायीले भने यात्रु ठगेर मनोमानी रुपमा चर्को भाडा असुली रहेका छन् ।
भूकम्पको त्रास र आउनसक्ने महामारीबाट जोगिन काठमाडौंबाट बाहिरिने यात्रुलाई बस व्यवसायीले नियमितभन्दा दोब्बर भाडा लिइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।
अधिकांश यात्रुले चर्को मूल्य तिरे पनि बसको सीट पाउन सकेका छैनन् केही यात्रु ट्रकलगायतका साधनमा कोचिएर पनि यात्रा गरिरहेका छन् ।
उपत्यका विभिन्न नाकाबाट नियमित रुपमा दैनिक तीन हजारभन्दा बढी सवारीसाधन बाहिरिने गरेका छन् भने त्यत्तिकै सङ्ख्यामा सवारीसाधन भित्रिने गरेका छन् ।
राजधानीबाट विभिन्न जिल्लातर्फ बाहिरिने मानिसको सङ्ख्या बाक्लिएको छ । मुख्य नाकाहरु कलङ्की, गोंगबु बसपार्क, पुरानो बसपार्क, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खुलगायत क्षेत्रमा यात्रुहरुको चाप बढेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दका अनुसार उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दो छ, हिजो मात्र ८५ हजार ६२९ जना बाहिरिएका थिए भने आज पनि ठूलो सङ्ख्यामा यात्रुहरु गइरहेका छन् ।
उनले काठमाडौंबाट बाहिरिने बसले चर्को भाडा असुलेको भन्ने खवर प्राप्त भएकाले प्रहरीका विभिन्न चेकपोष्टमा यात्रुहरुसँग सोधेर बसले बढी भाडा असुल गरेको पाइएमा कारवाहीका लागि निर्देशन दिइएको बताएका छन् ।
त्यसैगरी गाडीहरुले निर्धारित भन्दा बडी भाडा लिएमा प्रहरीको मोबाइल नम्बर ९८५१२२८१३६३ मा गाडीको विवरणसहित एसएमएस गर्न प्रहरीले आग्रह गरेको छ ।
