समाचारमंगलबार, बैशाख १५, २०७२
‘घाइतेको उपचार नगर्ने अस्पतालको दर्ता खारेज गर्छौं’
सरकारले खर्च अभाव भएका घाइते तथा विरामीहरूको उपचार नगर्ने अस्पतालको दर्ता खारेज गर्ने भएको छ । राष्ट्रिय विपद्का बेला समेत न्यूनत्तम मानवीय संवेदना नदेखाएका अस्पतालको दर्ता खारेज हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्दले हिमालखबरलाई जानकारी दिए ।
निजी अस्पतालमा पुगेका घाइतेहरुको उपचार नगरेर सरकारी अस्पतालमा पठाउने गरेको रिर्पोट आएपछि स्वास्थ्य मन्त्रालयले कारवाहीको तयारी गरेको हो । प्रवक्ता चन्द भन्छन्, “यो प्रारम्भिक कारवाही मात्रै हो । पछि सरकारले थप कारवाही गर्न सक्दछ ।”
समूहमा बस्दा सतर्कता आवश्यक
प्रवक्ता चन्दका अनुसार खुल्ला स्थानमा जम्मा भएर बसेकाहरू मध्ये काठमाडौंमा एक, दुई ठाउँमा झाडा पखालाको समस्या देखिएको छ । महामारी फैलना नदिन भुकम्पबाट बढी प्रभावित ११ जिल्लामा विशेष सतर्कता अपाउनु पर्ने उनी बताउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनी महामारी आउन नदिन सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँछन् । फ्लुको संक्रमण नदेखिएपनि समूहमा बस्दा यसबाट बच्न सचेत रहनु पर्ने उनको सुझाव छ । उनी मास्क लगाउन,सफा पानी पिउन र सफा खाना खान सल्लाह दिन्छन् ।
