समाचारमंगलबार, बैशाख १५, २०७२
काठमाडौं तीन मिटर दक्षिण सरेको अनुमान
रासस/एएफपी
नेपालमा भूकम्पको विपत्तिका समाचारहरु आइरहेका बेला यसबाट पर्नसक्ने भौगोलिक असरका बारेमा पनि विज्ञहरुबीच चर्चा शुरु भएको छ ।
भूकम्पबाट विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको उचाईमा कुनै असर नपरेको विज्ञहरुको भनाई छ ।
गएको शनिबार नेपालमा ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पबाट अकल्पनीय रुपमा मानवीय तथा भौतिक क्षतिको अनुमान गरिएको छ ।
८० वर्षभन्दा लामो समयपछि आएको यती ठूलो भूकम्पका कारण राजधानी काठमाडौंको भौगोलिक बनावटमा नै फेरबदल भएको बताइएको छ ।
क्याम्ब्रिज विश्वविद्यालयका भू गर्भसम्बन्धी विज्ञहरुले काठमाडौंको जमिन करिब तीन मिटर ९दश फिट० दक्षिणतर्फ सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
काठमाडौं र नेपालका विभिन्न स्थानमा राखिएका प्रारम्भिक भूकम्पमापक आवाजसहितका तरङ्गहरुले रेकर्ड गरेका तथ्याङ्कहरुको आधारमा गरिएको अध्ययनमा यस्तो देखिएको ती विज्ञहरुले जनाएका छन् ।
क्याम्ब्रिज विश्वविद्यालयका विज्ञ जेम्स ज्याक्सनले उक्त तथ्य पत्ता लगाएका हुन् ।
ती मेसिनहरुले मापन गरेका तथ्यका आधारमा हेर्दा काठमाडौंको यसअघिको बनावटभन्दा करिब तीन मिटर काठमाडौंको जमिन दक्षिणतर्फ सरेको हुनसक्ने देखिएको उनको भनाई छ ।
यसअघि पनि गरिएको एक अर्को अनुसन्धानमा काठमाडौंको जमिन सरेको हुनसक्ने बताइएको थियो ।
अष्ट्रेलियाको अडेलिड विश्वविद्यालयका भौतिक विज्ञान विभागका प्रमुख स्यान्डी स्टेसीले गरेको अनुसन्धानमा पनि यस्तै तथ्य बाहिर आएको थियो ।
हिमालयन क्षेत्रमा जाने गरेका यस्ता भूकम्पले विशेषतः उत्तरी प्लेटमा ठोकिई प्रभावित पार्ने गरेको छ र यसका कारण त्यस भूभागका पत्रहरु सरेर माथिल्लो तहमा चिरा पार्ने गरेको पनि पाइएको छ ।
यस्ता पत्र या चिराहरुले हिमालयन क्षेत्रको उत्तरतर्फ घुमिरहेको चट्टानलाई प्रभावमा पार्ने गरेको पहिलेका अनुभवहरु रहेको बताइन्छ ।
सो कारणले जमिनको यसअघिको बनावटमा पनि फरक आउन सक्छ ।
यो तथ्यलाई बेलायतको दुरहाम विश्वविद्यालयको डिपार्टमेन्ट अफ अर्थ साइन्सका प्राध्यापक मार्क अलेनले पनि स्वीकार्छन् ।
उनले भूकम्पका कारण खासगरी काठमाडौंको चट्टान करिब १० फिट पर दक्षिणतर्फ सरेको हुनसक्ने अनुमान गरे ।
उनले भनेका छन्, “भूकम्पपछि काठमाडौंको केही जमिनले ठाउँ छोडेको छ र त्यो बढीमा तीन मिटर हुनसक्छ ।”
यो भूकम्पको गहिराई कम्तीमा १५ किलोमीटर रहेको र यसपछिको मापनका आधारमा अध्ययन गर्दा यसले तीन मिटर स्थान छोडेको हुनसक्ने उनको भनाई छ ।
ठूलो भूकम्प गएपछिका ७२ घन्टासम्म पनि काठमाडौंमा सानाठूलागरी करिब एक सय बढी झड्का आएका छन् । सोही कारण पनि यसरी जमिनले स्थान छोडेको अनुमान गरिएको हो ।
