समाचारमंगलबार, बैशाख १५, २०७२

साँखुमा थप उद्धार टोली आवश्यक, दुर्गन्ध फैलियो

हिमालखबर

sakhuकाठमाडौं उपत्यकाको पुरानोमध्येको बस्ती साँखु १२ वैशाखको महाभुकम्पबाट पूरै ध्वस्त भएको छ ।

चार ढोकाभित्रको साँखुमा रहेका पुरानामध्येका करीब ९५ प्रतिशत घर ध्वस्त भएको स्थानीय इन्जिनियर सुरेश श्रेष्ठले बताए ।

“घर भत्कँदा धेरै मानिस च्याँपिए, कति मरे, कति बाँचे एकिन छैन,” उनले हिमालखबरसँग भने,“उद्धार टोलीले काम गरिरहेको भए पनि अधिकांशलाई निकाल्न सकिएको छैन ।”

साँखुमा नेपानली सेना, नेपाल प्रहरी र टर्कीबाट आएका उद्धारकर्मीले काम गरिरहेको भए पनि पर्याप्त हुन सकेको छैन ।

वस्तीभित्र सबैजसो घर र बाटो ध्वस्त भएकाले सीमित संख्याका उद्धारकर्मीले मात्रै सबैको उद्धार सम्भव नभएको हो । “सेना र प्रहरी एक भ्यान तथा टर्कीका उद्धारकर्मी अर्को भ्यानमा आएका छन्”, इन्जिनियर श्रेष्ठ भन्छन्,“यति संख्याले एक छेउ पनि उद्धार सम्भव छैन ।”

१५ वैशाख बिहानसम्म ६४ जनाको शव निकालिएको छ । तर वस्तीभरी दुर्गन्ध फैलिएकाले निकाल्न बाँकी रहेका अरू धेरै शव कुहिएर गन्हाएको अनुमान गरिएको छ ।

सम्पर्कमा नभएका साँखुका थुप्रै मानिस त्यहीं पुरिएको आशंका छ । इन्जिनियर श्रेष्ठले आफ्नो टोलमा मात्रै १० जना हराइरहेको बताए ।

साँखुसम्म पुग्ने सडकमा अवरोध नभए पनि त्यहाँभित्र भने भत्किएका घरले सडक ढाकिएका छन् । सवारी चलाउन मिल्दैन । त्यसैले पनि सीमिति संख्यामा साँखुको एक क्षेत्रमा पुगेका उद्धारकर्मीले पूरै वस्तीमा उद्धार गर्न सकेका छैनन् ।

नभत्किएका घरहरू पनि पूरै चर्किएकाले सबैजसो वस्तीका मानिसहरू सार्वजनिक स्थानमा बसिरहेका छन् । पीडितहरु भगवती तथा भाग्योदय माविका मैदान तथा बाँझा खेतमा पाल टाँगेर बसेका छन् ।

उपत्यकाका पूराना वस्ती चापागाउँ, सुनाकोठी, हरिसिद्धि, थानकोट लगायतका स्थानमा पनि ८० प्रतिशत भन्दा बढी घर यसैगरी भत्किएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>