समाचारबुधबार, बैशाख १६, २०७२

जिल्ला जिल्लाबाट राहत पठाउन शुरु, पर्साबाट २० लाखको सामाग्री पठाईयो

हिमालखबर

शनिबार गएको विनाशकारी भूकम्प पीडितहरुका लागि राहत संकलन गरेर प्रभावित क्षेत्रमा पठाउन पर्सामा सक्रियता बढेको छ ।

जिल्ला दैवि प्रकोप उद्धार समितिसँग समन्वय गरेर विभिन्न संघ संस्थाले संकलन गरेको ७ गाडी राहत सामाग्री प्रभावित क्षेत्रमा पठाईसकिएको छ ।

काठमाण्डौं, गोरखा, सिन्धुपाल्चोक लगायत भूकम्पबाट बढी प्रभावित क्षेत्रमा करिब रु.२० लाख बराबरको राहत सामाग्री पठाईइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।

त्यस्तै ५ लाख ५१ हजार रुपैंया प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको छ । ‘प्रभावित जिल्लासँग हामीले समन्वय गरिरहेका छौं”, प्रजिअ अधिकारीले भने, ‘प्रभावित जिल्लाको आवश्यकता अनुसार सकेसम्म त्यही सामाग्री पठाउँदैछौं ।’

जिल्ला दैवि प्रकोप उद्धार समितिका अनुसार नेपाल औषधी व्यवसायी संघ, अञ्चल प्रहरी कार्यालय, औषधी व्यवसायी संघ समेततद्वारा संकलित औषधी लगायत अन्य खाद्य सामाग्री गरी २ लाख ५१ हजार बराबरको राहत सामाग्री मङ्गलबार गोरखा जिल्लामा पठाईएको छ ।

त्यस्तै मारवाडी युवा मञ्चसँगै जिल्लाका विभिन्न स्थानबाट संकलित १३० थान म्याट्रेस, ३३९ थान त्रिपाल, ७५० थान व्ल्याङ्केट, ४ सय मिटर ओच्छयाउने म्याट, ६० थान कार्पेट, २५० कार्टुन मिनरल वाटर, ४३ सय किलो चिउरा, १ सय किलो सख्खर, ५० कार्टुन चाउचाउ, ५० किलो सातु, २० बोरा भुजा, ६ सय कार्टुन विस्कुट तथा ७० कार्टुन साबुनसहितको दुईवटा एउटा कन्टेनर सिन्धुपाल्चोकतर्फ मंगलवारै पठाइएको छ ।

यसअघि पर्सा प्रहरीले प्रहरी प्रधान कार्यालयमार्फत ५ सय कार्टुन चाउचाउ, १० क्वीन्टल चिउरा, २ सय ५० कार्टुन दालमोठ तथा ८ सय कार्टुन पानिसहितको सहितको राहत सामाग्री सोमबार नै पठाइसकेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

त्यस्तै ३२५० हजार केजी चिउरा, ५ सय कार्टुन पानी, ३ सय किलो दालमोठ, १०० कार्टुन साबुन, ५ सय किलो नुन, १ क्वीन्टल मिठा, २५ कार्टुन विस्कुट, ४ सय थान कम्बल, ३५० थान त्रिपाल, १ सय २० थान चटाईसहितका राहत सामाग्री सोमबार नै गोरखा पठाइएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप केडियाले बताए ।

राहत संकलन हुने क्रम अझै जारी नै छ । राउन्ड टेबल थ्री लगायतका संघ संस्थाको ५ लाख बाराबरको सहयोग सामाग्री तथा रु.१ लाख भन्दा बढी नगद राहत संकलन केन्द्रमा मौज्दात रहेको जनाइएको छ ।

आफूखुशी राहत संकलनमा रोक
पर्सामा जिल्ला दैवि प्रकोप उद्दार समितिले घर घरमा गएर राहत संकलनमा रोक लगाएको छ । स–साना समूहमा घर घरमा गएर संकलित राहतको दुरुपयोग भएको विगतको अनुभवको आधारमा रोक लगाईएको प्रजिअ घिमिरेले बताए ।

उनले भने “प्रशासनका अनुमति नलिई घर घर, पसल–पसल गएर राहत संकलन नगर्न भनेका छौं ।” तोकिएको खुल्ला स्थानमा संकलन केन्द्र राख्नेगरी प्रशासनको अनुमतिमा दर्ता भएका संघ संस्थाले भने राहत संकलन गर्न सक्ने उनको भनाई छ ।

प्रशासनको आग्रहलाई अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी उनले दिएका छन् । सोही क्रममा मङ्गलबार अनुमति विनानै राहत संकलन गरिरहेका दुई समुहलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइबुझाई गरेर छोडेको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>