समाचारबुधबार, बैशाख १६, २०७२
मोदीले भने,‘ध्वस्त सम्पदाको पुनर्निर्माणमा साथ रहनेछ’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पबाट ध्वस्त सम्पदाहरुको पुनर्निर्माणमा भारतले सहयोग गर्ने बताएका छन् ।
भारत भ्रमणमा आएका अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँगको भेटपछि दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालीको साहस र मानवीयताले विश्वभरबाट सम्मान आर्जेको भन्दै भूकम्पको त्रासदी भोगिरहेको नेपालमा उद्धार र राहत पछि घर र सम्पदा निर्माणका बेला पनि भारतको साथ रहने बताएका छन् ।
उनले भने, “नेपालमा आएको भयानक विपत्तीको छायाँमा भएको राष्ट्रपति घानी र मेरो भेटमा हामीले हाम्रा दुई देश, दक्षिण एशिया र सम्पूर्ण विश्वसँग नै नेपाली जनताका लागि बोलिरहेका छौं । तपाइँहरुको साहस र मानवीयताले विश्वकै सम्मान आर्जेको छ । यो त्रासदी र परिक्षणका बखत तपाइँहरु एक्लै हुनुहुन्न ।”
प्रधानमन्त्री मोदीले अगाडि भने, “उद्धार र राहतका लागि हामी हरसंभव प्रयास गर्ने छौं । तपाइँहरुको जनजीवन सहज हुँदै गर्दा र तपाइँहरुका घर–सम्पदाको पुनर्निर्माणका बेला पनि हामी तपाइँहरुको साथमै रहने छौं ।”
