समाचारबुधबार, बैशाख १६, २०७२

जाजरकोटमा फैलिएको फ्लु पूर्ण नियन्त्रण नजिक

हिमालखबर

जाजरकोट जिल्लामा चैतको तेस्रो सातादेखि महामारीकै रुपमा फैलिएको ज्वरोसहितको रुघाखोकी (फ्लु) को प्रभाव पूर्ण नियन्त्रण नजिक देखिएको छ ।

रुघाखोकीको सङ्क्रमण फैलिएको दुई हप्तापछि सरकारले यस जिल्लामा औषधि र विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली खटाएको थियो । पछिल्ला दिनमा बिरामीहरु शिविरमा आउनै छाडेका छन् । एक/दुईवटा शिविरमा मात्र स्वास्थ्य परीक्षण गर्न फाटफुट रुपमा बिरामी आउने गरेका छन् ।

समग्र जिल्लामा अबको अवस्थाको समीक्षा गरेर अब शिविरलाई निरन्तरता दिने वा के गर्ने भन्नेबारेमा आज र भोलिमा समीक्षा गरेर निर्क्यौलमा पुग्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिए ।

“रुघाखोकीको प्रकोप विस्तार भएसँगै प्रभावित १८ वटा गाविसमा ३० वटासम्म शिविर सञ्चालन गरिएकोमा अहिले घटाएर ८ वटामात्र सञ्चालन गरिएको छ,” उनले भने ।

महामारी फैलिएपछि जाजरकोटमा २९ जनाको मृत्यु भएको थियो ।

काठमाडौँबाट आएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र वीर अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीबाट जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर खडा गरी बिरामीको उपचारका लागि व्यवस्था मिलाइएको छ ।

त्यसको अतिरिक्त जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय जनस्वास्थ्य कार्यालय र अरु सङ्घ संस्थाले प्रकोप नियन्त्रणका लागि शिविर सञ्चालनमा सहयोग पुर्‍याइरहेका छन् ।

हालसम्म जिल्लामा १२ हजार भन्दाबढी सर्वसाधारणको शिविरमा स्वास्थ्य परीक्षण गरिसकिएको छ । त्यसमध्ये असाध्यै न्यून व्यक्तिमा मात्र मौसमी फ्लु देखिएको छ ।

जिल्लाका १८ वटा गाविस यो सङ्क्रमणबाट प्रभावित रहेकामा हाल सवै ठाउँमा प्रकोप पूर्णरुपमा नियन्त्रण नजिक पुगिसकेको बताउँदै जाजरकोटको लागि गठन भएको टास्क फोर्सका संयोजक सहायक रथी खड्गबहादुर मल्लले भने, “मौसमी फ्लुको सङ्क्रमणको अवस्था पहिलेको भन्दा अहिले निकै कम छ ।”

पछिल्ला दिनहरुमा शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीको सङ्ख्यामा निकै कमी आएको छ, मृत्यु भएका व्यक्तिको प्याथोलोजिक परीक्षण नभएकाले त्यो स्वाइन फ्लु वा अरु कुनै रोगबाट मृत्यु भएको हो भन्ने एकीन छैन, शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने अधिकांश व्यक्तिमा मौसमी फ्लुभन्दा छाला, हाडजोर्नी, जुका तथा पेट सम्बन्धी समस्या रहेको पाइयो– नेपाली सेनाका चिकित्सक अनिलकुमार सिंहले भने ।

सरकारले जिल्लामा खटाएका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली र औषधिहरु आवश्यक ठाउँमा पुर्‍याउने जिम्मेवारी नेपाली सेनालाई तोकेको छ ।

नेपाली सेना स्वयम्ले विशेषज्ञसहितका दुईवटा टोलीले जाजरकोट जिल्लाका दुईस्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । ती दुईवटा शिविरमा एक हजार ५०० भन्दा बढी व्यक्तिहरुको स्वास्थ्य परीक्षण भइसकेको छ ।

प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जिल्लाका १८ गाविसका ३० शिविरमार्फत ३५ जना विशेषज्ञसहित ९७ जनाले बिरामीको उपचारका लागि अहोरात्र सहयोग पुर्‍याएकाले रोग नियन्त्रण गर्न सकिएको प्रतिक्रिया दिए ।

दमको पुरानो रोगसहित ज्वरो आएर जिल्लाको अत्यन्तै दुर्गमस्थान पैक गाविसमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि पुगेकी पद्मा सुनारले भनिन्– शिविरले हामीलाई बचायो, नेपाली सेना र प्रहरीहरुको शिविर नभएको भए धेरै जनता मरिसक्ने थिए, अब गाउँमा धेरै बिरामी छैनन् ।

नारायणप्रसाद न्यौपाने, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>