समाचारबुधबार, बैशाख १६, २०७२
सडकमा थुप्रिएको फोहर उठाउन शुरु
काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको फोहर उठाउन शुरु गरेको छ ।
शनिबार गएको विनाशकारी भूकम्पका कारण महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेको थिएन ।
त्यसैगरी भूकम्पको त्रासले अस्तव्यस्त बनेको काठमाडौँको जनजीवन तथा सुरक्षाका लागि खुला ठाउँमा बनाइएका शिविर आसपास क्षेत्रबाट पनि फोहर जथाभावी थुप्रिएको थियो ।
टुँडिखेलमा सुरक्षाका लागि शिविर बनाएर बसेका सर्वसाधारणबाट जम्मा भएको फोहर भने महानगरपालिकाले व्यवस्थापन गरिसकेको र अब घरघरमा थुप्रिएको फोहर व्यवस्थापन गर्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौँका सडकमा जम्मा भएको सम्पूर्ण फोहर व्यवस्थापनको कार्य सम्पन्न गर्न तीनचार दिन लाग्ने नगरपालिकाले जनाएको ।
त्रास कम भएपछि सर्वसाधारण शिविर छाड्दै
भूकम्पको त्रास कम भएसँगै उपत्यकाका विभिन्न स्थानका खुला चौरमा बसेकाहरु आ–आफ्ना घर फर्कन थालेका छन् ।
धेरै मानिसहरु अब भूकम्प आउँदैन भनेर घर फर्किए पनि घर भत्किएका र क्षति पुगेकाहरु भने खुल्ला स्थानमा पालमुनि बसिरहेका छन् ।
मङ्गलबारदेखि नै सरकारले पनि भूकम्पको त्रास कम हुँदै गएकाले घर फर्कन सर्वसाधारणलाई आग्रह गरेको थियो ।
भूकम्पविद्हरु पनि ठूलो भूकम्पपछि सानातिना कम्पनहरु आउनु स्वाभाविक प्रक्रिया भएकाले यसबाट नआत्तिई घर फर्कन हुने बताउँछन् ।
राजधानीका सडकमा बाक्लो सङ्ख्यामा सवारी साधन गुड्न थालेका छन्, सर्वसाधारणको चहलपहल पनि बढेको छ ।
संविधानसभा भवन अगाडिको खुल्लास्थानमा एकवर्षीय बच्चासहित चारदिनदेखि बस्दै आएकी शान्ति राउत पनि आफ्नो गुण्टा लिएर घर फर्किएकी छन् ।
“अब त भूकम्प आउँदैन रे, आएपनि सामान्य मात्रै आउँछ रे भनेर म त घरतिर लागेँ”–उनलाई हिजोदेखि नै ठूलो झड्का नआएकाले अब केही नहोला भन्ने लागेको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीले पनि अब भूकम्पको ठूलो झड्का जाने कुनै त्रास नभएको र कुनै त्यस्तो हल्ला भए पनि त्यो बेकारको हल्ला मात्रै भएको र अब घरमा बस्ने सकिने बताए ।
रासस
