समाचारबुधबार, बैशाख १६, २०७२
भूकम्पले भलिबलका मुख्य प्रशिक्षक श्रेष्ठको मृत्यु
राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको विनाशकारी भूकम्पमा परी मृत्यु भएको छ ।
शनिबार कलङ्कीस्थित आफ्नै निवासमा रहेका बेला भूकम्पले भत्काएको घरमा थिचिएर श्रेष्ठको मृत्यु भएको राष्ट्रिय भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
महासचिव चन्दले श्रेष्ठको मृत्युले भलिबल खेलमात्र नभई सिङ्गो खेलकुद क्षेत्रलाई क्षति पुगेको बताए ।
उनले श्रेष्ठको मृत्यु भएको शोकमा यही वैशाखमै हुने भनिएको महिला क्लब च्याम्पियनसीप प्रतियोगिता स्थगितसमेत गरेको जानकारी दिए ।
५६ वर्षीय श्रेष्ठको श्रीमतीसँगै दुई छोरा छन् । उनी पूर्व राष्ट्रिय खेलाडीसमेत थिए ।
त्यस्तै बक्सिङ खेलाडी दीपक महर्जनका आमा, दाजु, भाउजु र भतिजीको भूकम्पका कारण मृत्यु भएको छ ।
महर्जनको संलग्नतामा नेपालले सन् २०१० मा चीनको ग्वाङजाउमा भएको १६औँ एसियाली खेलकुद प्रतियोगितामा एकमात्र कास्य पदक जितेको थियो ।
गत शनिबार र पटक–पटक गएको विनाशकारी भूकम्पले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाका तीनवटा ढोका, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मुख्य कार्यालय र राखेप नजिकै रहेको टेनिस कोर्ट वरिपरिको पर्खाल भत्किनुका साथै प्याराफिटमा समेत क्षति पुगेको छ ।
