समाचारबुधबार, बैशाख १६, २०७२
सुरक्षा निकायबीच समन्वय अभाव
-रामेश्वर बोहरा
१२ बैशाखको महाभुकम्प पछिको उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरुले दिनरात नभनी गरेको अथक प्रयास सराहनीय भए पनि सुरक्षा निकायहरुबीचको समन्वय अभाव टड्कारो देखिएको छ ।
योविघ्न राष्ट्रिय विपत्तिका बेला सुरक्षा निकायहरुको एकीकृत परिचालन र पहल अत्यावश्यक हुने भए पनि पाँचौं दिनसम्म त्यस्तो संकेत देखिएको छैन । तीनवटै सुरक्षा निकाय आ–आफ्नै हिसाबले काम गरिरहेका छन् ।
भूकम्पबाट भएको जनधनको क्षति र उद्धार प्रयासबारे जानकारी दिन सेनाले हरेक दिन बिहान र बेलुकी सैनिक मुख्यालय परिसरमा पत्रकार सम्मेलन गर्छ । त्यसैगरी नेपाल प्रहरीले पनि प्रहरी मुख्यालयमै पत्रकार सम्मेलन गर्दै आएको छ । सशस्त्र प्रहरीले भने आफ्नो नियमित बुलेटिनमार्फत् यो विवरण सार्वजनिक गर्दै आएको छ । त्यसैगरी गृहमन्त्रालयले पनि पत्रकार सम्मेलन मार्फत् जनधनको क्षति, उद्धार प्रयास र राहत सम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ ।
“यस्तो बेलामा सबै सुरक्षा निकायहरुको एकीकृत केन्द्रिय कमाण्ड स्थापना गरी त्यहीँबाट उद्धार सम्बन्धी सबै काम गर्नुपर्छ” सशस्त्र प्रहरीका पूर्व अतिरिक्ति महानिरीक्षक रबिराज थापा भन्छन्, “तर, सबै सुरक्षा निकाय आ–आफ्नै किसिमले मात्र काम गरिरहेका देखिए ।”
सुरक्षा निकायहरुको एकीकृत परिचालनका लागि प्रधानमन्त्रीको मातहतमा राष्ट्रिय सुरक्षा परिषद छ । परिषदको सचिबालय ‘कमाण्ड सेन्टर’ स्थापना गरेर यो काम गर्न सकिन्छ ।
त्यसैगरी गृहमन्त्रीको अध्यक्षतामा केन्द्रिय सुरक्षा समिति छ भने गृहमन्त्रालयमै विपद व्यवस्थापन महाशाखा पनि छ । यी तीनवटै संरचना सुरक्षा निकायको एकीकृत परिचालन गर्ने उपयुक्त थलो भए पनि अहिलेसम्म सरकारले यस्तो पहल समेत गरेको छैन ।
प्रधानमन्त्रीले सुरक्षा तथा उद्धार समन्वय समिति गठन गरेर सबै सुरक्षा निकायका प्रमुखहरु रहने गरी कमाण्ड सेन्टर स्थापना गर्नुपर्ने र सुरक्षा प्रमुखहरुले कमाण्ड सेन्टरबाटै सुरक्षाकर्मीको परिचालन चुस्त बनाउनुपर्ने सुरक्षा विज्ञहरुको सुझाब छ ।
सबै सुरक्षा प्रमुखहरु एक ठाउँ बस्दा जोखिमको आकलनसँगै सुरक्षाकर्मीको सही र चुस्त परिचालन गर्न सहज हुन्छ । थोरै सुरक्षाकर्मीको परिचालनबाट पनि धेरै काम गर्न सकिने अबस्था सिर्जना गर्न सकिन्छ ।
तर, सुरक्षा प्रमुखहरु आ–आफ्नै मुख्यालय परिसरमा आ–आफ्नै कमाण्ड सेन्टर स्थापना गरेर बसेका छन् । प्रधानसेनापति गौरबसमशेर जबरा र सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त त यसबीचमा भूकम्पबाट बढी प्रभावित क्षेत्रको अवलोकन गर्दै हिडेका देखिए ।
“प्रमुखहरुले त कमान्ड सेन्टरमा बसेर समन्वय गर्ने र सुरक्षाकर्मीको परिचालन गर्ने हो” पूर्व एआइजी थापा भन्छन्, “सुरक्षाकर्मीले भोक प्यास केही नभनी अदम्य साहससाथ काम गरिरहेका छन्, तर एकीकृत परिचालन गर्दा योभन्दा धेरै बढी काम गर्न सकिन्थ्यो ।”
सुरक्षा अधिकारीहरु भने एकीकृत कमाण्ड सेन्टर स्थापना नभए पनि आफूहरुले समन्वय गरेरै काम गरिरहेको दाबी गर्छन् ।
एकीकृत सुरक्षा परिचालन नभएकै कारण कतिपय ठाउँमा अहिलेसम्म पनि उद्धारका लागि सुरक्षाकर्मी पुग्न नसक्ने तथा कतिपय ठाउँमा चाहिँ सबै सुरक्षा निकाय पुग्ने अबस्था देखापरेको छ । सुरक्षा निकायहरुबीच एकीकृत परिचालन र काममा समन्वय नहुँदा उद्धारकार्यमा सघाउन आएका भारतीय, चिनिया तथा अन्य मुलुकका उद्धारकर्तालाई पनि सही रुपमा परिचालन गर्न सकिएको छैन ।
“प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्रीले सुरक्षा प्रमुखहरुलाई एक ठाउँ राखेर योजना बनाउने र त्यही अनुसार सुरक्षाकर्मीको परिचालन गर्ने काम गरेको भए कामको बाँडफाँड हुन्थ्यो, थोरै जनशक्तिबाट पनि धेरै काम गर्न सकिन्थ्यो” थापा भन्छन्, “तर, सुरक्षा निकायहरुबीच समन्वय छ भन्ने अबस्था देखिएन ।”
