समाचारबुधबार, बैशाख १६, २०७२

नेपाललाई तत्काल ४१ अर्व अावश्यकः राष्ट्रसंघ

हिमालखबर

संयुक्त राष्ट्रसङ्घ र मानवीय साझेदारले १२ वैशाखमा गएको विनासकारी भूकम्पबाट प्रभावित भएकाहरूका लागि राहत उपलब्ध गराउन तत्काल रु ४१ अर्ब ५० करोड आवश्यक भएको जनाएकाे छ ।

संयुक्त राष्ट्रसङ्घले काठमाडौँ, जेनेभा र न्युयोर्कबाट अपिल जारी गर्दै राष्ट्र सङ्घमा आबद्ध सबै मुलुकलाई सहायताका निम्ति आग्रह गरेको छ ।

वासस्थान, पिउने पानी तथा सरसफाइ, आकस्मिक स्वास्थ्य सेवा, खाद्य पदार्थ र सुरक्षाजस्ता अत्यावश्यक आवश्यकता परिपूर्ति गर्ने नेपाल सरकारको प्रयासमा भरथेग गर्न पहिलो तीन महिनाका लागि त्यति रकम चाहिने उक्त विश्व संस्थाले बताएको छ ।

ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि उक्त संस्थाका आवासीय मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले खुला आकाशमुनि बास बस्न बाध्य पाँचलाख पीडितलाई घामपानी छेक्ने गुणस्तरीय पाल, आकस्मिक स्वास्थ्य सेवा, औषधि, स्वच्छ पिउने पानीको आपूर्ति अपरिहार्य भएको बताए ।

संयुक्त राष्ट्रसङ्घ र मानवीय साझेदारले तत्काल राहतका निम्ति तयार पारेको योजनाबाट ४२ लाख पीडितलाई स्वच्छ पिउने पानी, राहत नपाएका अतिविकट भेगका सात लाख ५० हजारसहित १४ लाखलाई खाद्य सहयोग, २१ लाख बालबालिका र पाँच लाख २५ हजार महिला लाभान्वित हुने उनले बताए ।

तत्काल राहत,उद्धार तथा मानवीय सहायताका लागि राष्ट्रसङ्घीय आपत्कालीन कोषबाट रु एक अर्ब ५० करोड निकासा भई आवश्यक काम प्रारम्भ भएको जानकारी दिँदै उनले वर्षायाम प्रारम्भ हुनु अगावै भूकम्प पीडितलाई राहत उपलब्ध गराउन अर्बौ चाहिने भएकाले सहयोगी हात फैलाउन संयुक्त राष्ट्रसङ्घ र मानवीय साझेदारले द्रुत सहयोगको व्यवस्था गर्न आग्रह गरे ।

खाद्य सुरक्षा, स्वास्थ्य, वास, गैरखाद्य सामग्री, शिविर व्यवस्थापन एवम् समन्वय, पिउने पानी, सरसफाइ, सुरक्षा, पोषण, शिक्षा, शीघ्र स्वास्थ्य लाभ, आकस्मिक सञ्चार तथा प्रविधि, अन्य प्रवन्ध तथा समन्वय गरी १२ वटा प्राथमिकताका क्षेत्र निर्धारण गरेर राष्ट्रसङ्घीय मानवीय समन्वयकर्ताले योजना तर्जुमा गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>