समाचारबिहीबार, बैशाख १७, २०७२
भुइँचालोमै जन्मिइन् ‘भुइँचम्पा’
सुत्केरी व्याथाले घरमै थलिएकी सौरपानी–९ शिम्भुकी सुनकुमारी गुरुङलाई शनिबारको भुइँचालोमा ढलेको घरले पुर्यो ।
एकातिर प्रशव पीडा , अर्कोतिर घरको बडेमानको गारोले पुरिएको अत्यास । ‘म त बाँच्दिन भनेको थिएँ, दैवले बचायो’ गोरखा अस्पतालको शैयामा भेटिएकी उनले रुँदै भनिन् ‘दिनभर ढुंगामाटो मुनि थिएँ । बेलुकी ६ बजेतिर गाउँलेले निकालेपछि छोरी जन्माएँ ।’
छोरी जन्माएपछि माछामासु त परको कुरा उनले गाउँबाट एकघण्टा परको तोरोङ जंगलको गुफामा बसेर सुत्केरी उतारिन् । ‘न खानेकुरा खान पाउनु, न तातो सेक्न पाउनु, न तेल लगाउन पाउनु’ उनले गुनासो गरिन् ‘पानीमात्रै खाएर चार दिन कटाएँ ।’
उनलाई बल्लतल्ल बुधबार हेलिकोप्टरले उद्धार गरेर गोरखा अस्पताल ल्याइपुर्याएको छ । अस्पताल आइपुगे पनि उनको समस्या अझै सल्टेको छैन । उनकी नवजात छोरीलाई जन्डिसले पक्रेको छ । अहिले उनीहरु गोरखा अस्पतालमा उपचाररत छन् ।
अन्नपूर्ण पाेष्टबाट
