समाचारबिहीबार, बैशाख १७, २०७२
एघार प्रहरीको अवस्था अज्ञात
दोलखामा प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी प्रकोप उद्धार समितिसँग खोजी गरिदिन आग्रह गरेको छ ।
दोलखाको चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको साँवा बजारस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत ११ प्रहरीको अवस्था अज्ञात रहेको हो । शनिबार बिहान ११ बजेसम्म नियमित सम्पर्कमा रहेका उनीहरु भुइँचालो गएदेखि सम्पर्कमा छैनन् । उक्त क्षेत्रको अवस्थासमेत अहिलेसम्म जानकारीमा छैन ।
चिलङ्खा, आलम्पु, बिगु खोपाचागु गाविसमा के भइरहेको छ, कति नागरिकको मृत्यु भयो या भएन, कति घर भूकम्पले क्षतिग्रस्त भयो भन्नेबारे स्थानीय प्रशासन बेखबर छ ।
प्रहरी नायब उपरीक्षक अजय केसीले १७ वैशाख बिहान सदरमुकाम चरिकोटबाट प्रहरी टोली पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराए ।
आज हेलिकप्टर आएपछि जिल्ला दैवी उद्धार समितिको टोली उक्त स्थानमा पुग्ने बताइएको छ ।
यता नागरिक समाज दोलखाले सम्पर्क नभएका गाविसमा तत्काल राहतसहित उद्धार टोली पुर्याउन माग गरेको छ ।
गाविस सचिव गाउँ गाउँमा
जिल्ला दैवीप्रकोप उद्धार समिति दोलखाले आजदेखि गाविसका सचिवलाई प्रतिघरपरिवार रु दुई हजार प्रदान गर्न रकम दिएर गाविसमा पठाएको छ ।
गाविस सचिवका साथ केही राहत पनि पठाउने तयारी भइरहेको उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ लामिछानेले बताए ।
दोलखाका ४८ गाविसमध्ये एक हजारभन्दा बढी घर भएका गाविसलाई पहिलो चरणमा रु १० लाख, एक हजारभन्दा कम घर भएका गाविसलाई रु पाँच लाख, दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकालाई रु २५ लाख र जिरी नगरपालिकालाई रु २० लाख पठाइएको लामिछानेले जनाकारी दिए ।
चालीस हजार पाल र रु ३० करोड रकम तत्काल उद्धारका लागि आवश्यक भएको र माग गरिरहेको उहाँले बताउनुभयो । केन्द्रबाट थोरैको सङ्ख्यामा पाल आएकाले वितरण गर्न अप्ठ्यारो भइरहेको जिल्ला दैवी उद्धार समितिले जनाएको छ ।
जिल्लाका चार स्थानमा मात्र जिल्ला दैवी प्रकोप उद्धार समितिले केही सङ्ख्यामा पाल र खाद्यान्न वितरण गरेको जनाइएको छ । लायन्स क्लब दोलखाले दोलखालगायत जिल्लाका केही स्थानमा पाल र खाद्यान्न वितरण गरेको लाइन्स क्लब दोलखाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
