समाचारबिहीबार, बैशाख १७, २०७२
राहत वितरणमा दलीय संयन्त्र वाधक
-युवराज श्रेष्ठ, दुधपोखरी, लमजुङ

नेपाली सेनाको हेलिकप्टरले ल्याएर छोडेको राहत सामाग्री हेर्दै लमजुङ ईलमपोखरी गाविस ठुलोकाभ्रे गाउँका बासिन्दा । तस्वीर: युवराज श्रेष्ठ
राहत लिन भनेर छिमेकी गाविस विचौर पुगेको लमजुङको दुधपोखरी–९ पात्लेका नन्दलाल गुरुङ रित्तै फर्के । नेपाली सेनाको हेलिकप्टर मार्फत १६ वैशाखमा मात्र तिन ट्रिप राहतका सामाग्री झारेको देखेर उनी पाँच घण्टा पैदलयात्रापछि विचौर पुगेका थिए ।
पानीमा रुझ्दै विचौर पुगेका गुरुङले साँझ पर्दासम्म कुरेर बसे तर राहत पाएनन् । प्रहरीसँग बुभ्mदा स्थानीय राजनीतिक संयन्त्रले निर्णय गरेर मात्र राहत दिने भन्ने सुनेपछि उनी रित्तै फर्कनु परेको हो ।
सदरमुकाम बेसीशहरबाट एक दिन जिप र एक दिन पैदलयात्रा पछि मात्र पुगिने विकट दुधपोखरी गाविसमा रहेका सबै ४९८ घरमा क्षति पुगेको छ । जसमध्ये ४५१ घर पूर्ण रुपमा क्षतिग्रस्त छन् ।
तत्काल पाल, टर्पोलिन केही पनि जोहो नभएकाले त्यहाँका बासिन्दा खुला आकाशमुनि रात काट्न बाध्य छन् ।
छिमेकी गाविससम्म पाल लगायतका राहत आईपुगे पनि संयन्त्रले निर्णय गर्न ढिलो गर्दा उनीहरुले राहत पाउने ठेगान छैन ।
हेलिकप्टर ल्याण्डिङ गरेको ठाउँबाट झण्डै एक घण्टाको उकालो बाटो बोकाएर विचौरको बागेश्वरी माविको भवनमा राहत राखिएको छ ।
सदरमुकाम बेसीशहरबाट विचौर र दुधपोखरी गाविसका लागि तीनवटा जिप र दुईवटा ट्रयाक्टरमा पाल लगायतका राहत पठाईएको छ । तर, बाटो राम्रो नभएकाले ईलमपाखेरीमै गाडी फँसेका छन् ।
गाडी फँसेको ठाउँसम्म राहत सामाग्री लिन जान स्थानीय तयार रहे पनि राजनीतिक संयन्त्रले निर्णय नगर्दा कठिनाई भएको ईलाका प्रहरी कार्यालय विचौरका ईन्सपेक्टर विनिमहादेव पौडेलले बताए ।
स्थानीय स्तरमा राहत सामाग्री वितरण गर्न सर्वदलीय संयन्त्रलाई परिचालन गर्दा सहज होस् भनेर यस्तो व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना बताउँछन् ।
गाउँमा जति पनि राहत पुगेका छन्, सबै संयन्त्रको निर्णय अनुसार वितरण गर्ने व्यवस्था मिलाएका छौँ, उनले भने ।
चामल होईन पाल

दुधपोखरीकी गौमाया गुरुङ विपत्तीबारे जानकारी गराउँदै । तस्वीर: युवराज श्रेष्ठ
दुधपोखरी–७ गैरीगाउँका विष्णुलाल गुरुङ भन्छन्, “भूकम्पले भत्कायो, अन्नबाली पुरियो, खोतलेर अलिकति निकाले पनि पानीले भिजायो ।”
अहिलेलाई अन्नबाली जोगाउन र बासका लागि पालको व्यवस्था भए ठूलो राहत हुने उनले बताए । तर, हेलिकप्टरबाट दुधपोखरी झारिएका सामाग्रीमा धेरैसजो खाद्यान्न छ ।
नेपाली सेनाको हेलिकप्टरले पोखराबाट चामल, दाल, चाउचाउ लगायतका खाद्यान्न धेरै झारिरहेका छन् ।
“घरमै भएका खाद्यान्नको सुरक्षा गर्न नसकेका बेला राहतमा पाएको चामल के गर्ने ?” स्थानीय चुडामणी शर्मा भन्छन्– “हामीले छिटो पाल चाहियो ।”
दुधपोरीसैगै जोडिएको गोरखाको केप्रुङ, खरिबोट, ठुलोगाउँ, अपुन, सिस्ने, लप्सीबोटमा पनि निकै ठुलो क्षति पुगेको छ ।
त्यहाँ पनि अहिलेसम्म राहतका कुनै सामाग्री पुग्न सकेको छैन ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको पछिल्लो विवरण अनुसार जिल्लाभर दुई हजार घर पुर्ण रुपमा क्षतिग्रस्त छन् भने १ हजार ६१९ घरमा आशिक क्षति पुगेको छ । आशिक क्षति पुगेको भनिएका घरहरु धेरै चर्किएकाले बस्न सकिने अवस्थामा छैनन् ।
