समाचारशुक्रबार, बैशाख १८, २०७२

हतियारधारी भीआईपीका कारण विवाद

हिमालखबर

महाभूकम्पपछिको स्थिति अध्ययन गर्न युरोपियन युनियनका एकजना उच्च अधिकारी अत्याधुनिक हतियारसहित आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो एकछिन विवाद र असहज परिस्थिति उत्पन्न भएको थियो।

युरोपियन युनियन मानवीय सहयोग र विपत् व्यवस्थापन प्रमुख क्रिस्टोस स्टेलियानिडेस हतियारधारी दुई सुरक्षाकर्मीलाई तत्काल फिर्ता (डिपोट) गर्न तयार भएपछि स्थिति सामान्य भएको थियो।

हतियारधारी सुरक्षाकर्मीसहित पस्न पाउनुपर्ने उनको अडानलाई विमानस्थलस्थित सुरक्षा अधिकारीहरूले अस्वीकार गरी सुरक्षाकर्मीहरूलाई अध्यागमन क्षेत्रबाटै छिर्न दिएनन्।

विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थका अनुसार हतियारसहित आउने पूर्वजानकारी र स्वीकृतिसमेत नलिएकाले उनीहरूलाई प्रवेशमा रोक लगाइएको हो।

कुनै भीआईपीले हतियारसहित आउन चाहेमा पूर्वजानकारी गराउनुपर्ने र यसअनुसार हतियारको विवरण खोली गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ। अनुमतिसहित ल्याइएको हतियार गृह मन्त्रालयको आदेशमा प्रहरीले विमानस्थलमै सुरक्षित राखिदिने र फर्कने बेलामा जिम् मा दिने गरिन्छ।

स्टेलियानिडेस संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी अन्तर्राष्ट्रिय संयोजक तथा उपमहासचिव भेलरी आमोसँगै भूकम्पपछिको स्थिति अध्ययन गर्न नेपाल आएका हुन्।

दुवै विशिष्ट व्यक्तिहरूले स्रोतको कमी रहेको नेपाली सेनाको हेलिकोप्टर प्रभावित क्षेत्रको अवलोकनका लागि शुक्रबार प्रयोग गर्ने भएका छन्। सुरक्षाकर्मीले अनुमतिपत्र खोजेपछि पाहुनाको स्वागतका लागि विमानस्थल पुगेकी युरोपियन युनियनकी नेपालका लागि राजदूत रेन्स्जे तिरिङलाई पनि परिस्थिति समाल्न गाह्रो भएको थियो।

सुरक्षा स्रोतका अनुसार उनले परराष्ट्र मन्त्रालय हुँदै गृह मन्त्रालयबाट अनुमति लिन समय अभाव भएकाले नसकिएको सुरक्षाकर्मीहरूलाई बताएकी थिइन्। दुवै भीआईपी इन्डियन एयरलाइन्सको दिल्ली काठमाडौंको नियमित उडानबाट साँझ ५ बजे विमानस्थल अवतरण गरेका थिए।

अन्नपूर्ण पाेष्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>