समाचारशुक्रबार, बैशाख १८, २०७२
सेवाभाव होइन, सेवाकार्यको उदाहरण
“प्रकृतिलाई मानिस चाहिँदो रहेनछ, तर मानिसलाई प्रकृति चाहिने रहेछ।” डा रामकण्ठ माकाजू श्रेष्ठ, धुलिखेल अस्पताल

तस्वीर: गौरव तुसुजू -१२ वैशाख, (४:४० बजे, धुलिखेल अस्पताल गेट)
काठमाडौं उपत्यका पूर्वी क्षेत्रको उद्धार केन्द्र हुनपुगेको छ धुलिखेल अस्पताल । १७ वैशाखसम्म १०७५ घाइतेको उपचार गरिसकेको अस्पतालमा यहाँका कर्मचारी, स्थानीय प्रशासन, प्रहरी, सेना र स्थानीयेबासिन्दा सहकार्य गर्दै रात-दिन खटिएका छन् ।
अस्पतालले गाउँ-गाउँमा ‘आउटरीच क्लिनिक’ संचालन गरेकाले त्यो सञ्जालले पनि उद्धारमा धेरै सघाउ पुर्याएको छ ।
अस्पतालमा ल्याइएका घाइतेमध्ये सबैभन्दा पहिले बालबालिका त्यसपछि बृद्ध र स्पाइनल चोट भएकालाई सर्जरीमा प्राथमिकता दिइएको छ।
अस्पतालमा रहेका पाँचै वटा अपरेसन थिएटरमा चिकित्सकहरु उच्च प्रबिधिका साथ कार्यरत छन, बिदेशी विशेषज्ञ सहयोगी छन्।
“प्रकृतिलाई मानिस चाहिँदो रहेनछ, तर मानिसलाई प्रकृति चाहिने रहेछू, अस्पताल संस्थापक डा. रामकण्ठ माकाजू श्रेष्ठ भन्छन, “यो विपदलाई अवसरमा बदल्नुको उपाय छैन।”
भूकम्पपछिको परिस्थितिलाई शत्रुबिनाको युद्धको संज्ञा दिँदै डा. माकाजु सहकार्यबाटै यो परिस्थितिको सामना गर्नुपर्ने बताउँछन् । भन्छन्, “यो रिस-राग र आरोपको बेला होइन, नेपाली जनताको सहनशीलतालाई उदाहारण मानौं।”
अहिले समुदायबाट भइरहेको राहतमा समेत सचेत हुनुपर्ने उनको ठम्याइँ छ । भन्छन्, “राहतका खाना र लुगाफाटा वितरण गर्दा आफूलाई मनपर्ने खालका सामग्री मात्र दिनुपर्छ, ताकि पीडितको अपहेलना नहोस।”
