समाचारशनिबार, बैशाख १९, २०७२
भूकम्पको धक्का महसुस भए पनि असर न्युन
१८ वैशाख राति ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केल र १९ वैशाख विहान ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै गत शनिबारदेखि हालसम्म चार रेक्टरभन्दा माथिको १२१ वटा भूकम्पको धक्का महसुस गरिएको र भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
उनका अनुसार भूकम्पको धक्का क्रमशः न्युन हुँदै गएको र छ रेक्टरभन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले स–साना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन ।
ठूलो भूकम्प गएका कारण चार रेक्टर स्केलभन्दामुनिका स–साना भूकम्पको धक्का आइरहने भए पनि यसले कुनै क्षति नपुग्ने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ ।
रासस
