समाचारशनिबार, बैशाख १९, २०७२
राहत वितरणमा निजी क्षेत्रलाई रोकिएको छैन: मुख्य सचिव
मुख्य सचिव लिलामणि पौडेलले राहत वितरणमा सरकारले क्षेत्रलाई रोकेको नभई सिडिओसँग समन्वय गर्न मात्र भनेको बताएका छन् ।
१९ वैशाखमा आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव पौडेलले व्यक्तिगत रुपमा राहत लैजाँदा अती अवश्यक ठाउँमा नपुग्ने र पुगिरहेको ठाउँमा दोहोरिने सम्भावना भएको हुँदा प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग समन्वय गर्न आग्रह गरिएको बताए ।
महाभूकम्पबाट बढी प्रभावित १५ वटा निर्वाचन क्षेत्रमा सह सचिवको नेतृत्वमा सरकारी टोली पुगिसकेको पनि उनले जानकारी दिए ।
गृह मन्त्रालय, नेपाली सेना र मुख्यसचिवबीच राहत र उद्धारका लागि नेतृत्वको बिषयमा खटपट भएको भन्ने सञ्चारमाध्यममा आएको कुरालाई उनले अस्वीकार गरे ।
भूकम्पको पहिलो र दोस्रो दिन सामाग्रीको अभावमा प्रभावित क्षेत्रमा जान नसके पनि त्यसपछि सरकारी टोली गएको उनले बताए । उनले अहिले खाद्यान्न पर्याप्त भए पनि त्रिपालको भने अभाव रहेको जानकारी दिए ।
राहत सामाग्री वा खाद्यान्न सहयोग गर्न चाहनेले थापाथली स्थित खाद्य संस्थानको गोदाममा जम्मा गर्न सकिने पनि उनले बताए । “गोदाममा ल्याइदिनुस्, त्यसलाई ठीक ढंगले बाँड्ने काम सरकारले गर्छ,” पौडेलले भने ।
