समाचारसोमबार, बैशाख २१, २०७२
दस दिनपछि दुई घाइतेको उद्धार
भूकम्प गएको १० दिनपछि उत्तरी गोरखाका दुई घाइतेको उद्धार भएको छ ।
सदरमुकामबाट गएको माउन्टेन एयरको हेलिकोप्टरले सिर्दिवास गाविसका ६० वर्षीय पेम्बा छेवाङ र छेकम्पार गाविसकी २३ वर्षीया तेनजिङ डोल्मालाई २१ वैशाखमा उद्धार गरेर जिल्ला अस्पताल गोरखा ल्याएको छ । छेवाङ भारी बोक्ने काम गर्छन् डोल्मा आनी हुन् ।
छेकम्पारस्थित राजेन गुम्बाकी आनी डोल्मा भूकम्प आएपछि अत्तालिएर लड्दा घाइते भएकी थिइन् ।
“भूकम्प गएको पाँचौँ दिनपछि धेरै आनीलाई पीडा थपियो,” छेकम्पारका युवा हवाङ सान्दो लामाले भने, “दिनहुँजसो छेकम्पारमा हेलिकोप्टर उड्छ । एउटै हेलिकोप्टर रोकिएन । हेलिकोप्टरको पर्खाइमा बस्नुपर्दा झन् रोगले च्याप्दै गएको थियो ।”
आज खाद्यान्न लिएर माउन्टेन एयरको हेलिकोप्टर छेकम्पार अवतरण भएपछि आनीलाई सदरमुकाम झारिएको हो । उनलाई कृत्रिम अक्सिजन दिइएको छ ।
दुर्गम भेगका भूकम्प पीडितहरुलाई समयमै उद्धार गर्न नसकेकोमा दुर्गमबासीहरु गुनासो गर्छन् ।
“हेलिकोप्टर आकाशमा उड्छ । भुइँमा बस्दैन” उनले भने, “गाउँमा अस्पताल छैन । आकाशतिर हेर्दै घाइते कुर्दै बस्यौं ।” भूकम्पले राजेन गुम्वाको भौतिक संरचना आंशिक मात्रामा भत्केको छ ।
रासस
