समाचारमंगलबार, बैशाख २२, २०७२
‘हेलिकप्टरले हाम्लाई देख्दैन’
-नेहा शर्मा, नुवाकोटबाट

नुवाकोट गेर्खुका अपार बोहरा सानो छोरासहित रुख मुनी । उनलाई छिमेकीले सघाइरहेका छन् । तस्वीर: नेहा शर्मा
६ दिनदेखि मुखमा अन्न नपरेको बताउने नुवाकोटको दुर्गम घ्याङफेदीका पेमा दोर्जे राहत आउँछ कि भन्ने आशामा ७ घन्टा हिडेर शिखरबेसी पुगे तर, केही पाएनन् । अत्यधिक कमजोरीका कारण उनी त्यहीं चौरमा लडेका थिए ।
“घरबार सबै गयो । खान पाइएन । आकाशमा हामीले देख्ने हेलिकप्टरले हामीलाई देख्दैन ।” दोर्जे सानो स्वरमा एकनास बोलिरहे, “अब त उकालो उक्लने ताकत छैन, यतै मरिन्छ ।”
सातबिसेमा काठमाडौं बौद्धको एउटा निजी संस्थाले उपलब्ध गराएको केही बक्सा चाउचाउ र विस्कुट स्थानीय प्रहरीले बाँडदै थियो ।
सीमित राहतका लागि असीमित पीडितहरुको लामबाट थप्रेक गाविसकी ७४ वर्षीया सीता खतिवडाले भनिन्, “यो चाउचाउ विस्कुट म बुढीलाई के काम, टोक्न सक्दिन चामल भए जाउलो खान्थे बाबु ।”
गाविस सचिवसमेत नपुगेका दुर्गममा जिविसले घोषणा गरेको राहत पीडितसम्म पुर्याइदिने कोही छैन । स्थानीय निकाय नहुनुको पीडा यतीबेला झनै परेको छ गाउँलेलाई ।
मृत्यु भएका आफन्तको किरिया बसेकाहरु खुल्ला आकाश मुनी नै कर्मकाण्ड गर्न वाध्य छन् ।
जिल्ला विकास समिति नुवाकोटले भत्किएका प्रत्येक घर परिवारका लागि ७ हजार रुपैयाँ दिने निर्णय गरे पनि सदरमुकाम नजिक बाहेक अन्य गाविसहरुमा उक्त रकम पुगेको छैन । रकम पुगे पनि खाद्दान्न र पाल किन्न पाइने अवस्था छैन् ।
१७ गाविस हेर्ने जिम्मा पाएको ईलाका प्रहरी कार्यालयमा प्रहरी दरवन्दी ३२ जनाको मात्रै छ । प्रहरी निरीक्षक डम्बर केसीका अनुसार १७ गाविसमा मात्र २११ जनाको ज्यान गएको छ, ६०० भन्दा बढी घाईते छन् ।
दुर्गमका एउटा गाविसबाट अर्कोमा पुग्न ७–८ घण्टा लाग्छ । “अझै धेरै हराएका छन्, पुरिएका हुनसक्छन्, सीमित संख्याको प्रहरी सबै ठाउँमा उद्धारका लागि जान सकेको छैन,” केसीले भने ।
घ्याङफेदी, उर्लेनी, थर्पेक, शिखरबेसी, बेतिनी लगायत गाविसका जनता राहत पाइने आशामा दिनभर प्रहरी कार्यलय कुर्छन् । “यि त सरकारका मान्छे हुन केही देलान कि भनेर कुरेका छौं, अहिलेसम्म केही पाइएन,” राउतबेशीका भुपराज पण्डित अझै प्रहरीबाटै केही पाइने आशामा छन् ।
नुवाकोटको अतिदुर्गम घ्याङ्फेदी, उर्लेनी, गाउँखर्क लगायतका गाविसका बासिन्दा ११ दिनदेखि भोकभोकै खुला आकाशमा रात बिताउन बाध्य छन् ।
सरकार र विभिन्न गैरसरकारी संस्थाले राहत वितरणको काम तिव्रतासाथ भइरहेको बताए पनि दुर्गमका स्थानमा अहिलेसम्म कुनै राहत पुगेको छैन । खुल्ला आकाशमुनी भोकभोकै बस्नु पर्दा सुत्केरी, बालबालिका र रोगीहरुको अवस्था चिन्तजनक बन्दै गएको छ ।
—————————————————————————
अपार बोहोरा, गेर्खु नुवाकोट
भूइँचालो जाने बेला म त्रिशुलीबाट घर फर्कंदै बाटोमा थिएँ । चारैतिर हल्लिन थालेपछि मोटरसाइकल रोकेर एकछिन बाटोमै बसें । हेर्दाहेर्दै घरहरु भत्किए । त्यहीं पुरिएकालाई उद्धार गर्न लागियो, आफ्नै अगाडि मानिस मरेको देख्दादेख्दै अघि बढ्न मनले मानेन ।
केहीबेर पछि घरको सम्झना आयो । गाउँमा सबै सकुशल होलन भन्ने लागेको थियो तर, गाउँ त ध्वस्त भैसकेको रहेछ ।
घरतिर दौडिएँ । घर थिएन, श्रीमती घरमै पुरिइसकिछन् । समयमै निकाल्न नसक्दा उनी वितिन् । अरुलाई बचाउनलाग्दा यता आफ्नै श्रीमती गुमाएँ ।
१८ महिनाको छोरालाई गाउँलेले उद्धार गरे । काखमा छोरो छ, बस्ने खाने केही छैन । रुखमुनीको बास छ
सरकारले ठाउँठाउँमा राहत बाडेको छ रे ! सबै २०० घरधुरी ध्वस्त भएको यहाँ सरकार आइपुगेको छैन ।
—————————————————————————————–
नारायण घले, विदुर नुवाकोट
भूइँचालो जानु एक घण्टाअघि मात्रै छोरोले ‘म पनि बजार जान्छु’ भनेको थियो ।
मैले लगेन उसलाई । त्यसबेला के थाहा, केही बेरमै जाने भुइँचालोले मेरो छोरालाई पनि लैजाला भन्ने ।
नुवाकोटको विदुरमा रुख मुनि आश्रय लिएका छौं । हाम्रो ५ बर्षको छोरो, दाइका छोराछोरी, भाउजु, ठूलीआमा घरमै पुरिए । अन्नपात सम्पति सबै त्यहीं पुरियो ।
अहिलेसम्म ‘तिमीहरुलाई के चाहिन्छ ’ भन्न कोही आएको छैन । राहत वितरण भइरहेको सुनिन्छ तर, हामीसम्म पुगेको छैन । राहत खोज्दै हामी पनि हिंडेका छैनौं ।
