समाचारमंगलबार, बैशाख २२, २०७२
थाइल्यान्ड, कम्बोडिया र लाओबाट सहयोग
थाइल्यान्ड, कम्बोडिया र प्रजातान्त्रिक गणतन्त्र लाओले भूकम्पपीडितका निम्ति आर्थिक एवम् भौतिक सहायता प्रदान गरेका छन् ।
थाईल्यान्डका राजारानीले एक करोड थाई भाट र थाई सरकारले दुई लाख अमेरिकी डलरका साथै औषधि उपकरणलगायत सामग्री उपलब्ध गराएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उक्त दूतावासका अनुसार कम्बोडिया र प्रजातान्त्रिक गणतन्त्र लाओले एक–एक लाख अमेरिकी डलर प्रदान गरेका छन् । थाइल्यान्ड, कम्बोडिया र प्रजातान्त्रिक गणतन्त्र लाओले प्रदान गरेको रकम नेपाली दूतावासको खातामा दाखिला भएको छ ।
थाईल्यान्डमा बसोबास गर्दै आएका नेपाली, गैर नेपाली सङ्घ–संस्था तथा त्यहाँस्थित सामाजिक संस्थाबाट भूकम्पपीडितका लागि सहायता सामग्री सङ्कलन भइरहेको पनि उक्त दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
