समाचारबुधबार, बैशाख २३, २०७२
‘भूकम्प पीडितलाई पाल हाेइन जस्तापाता दिइने’

भूकम्म पीडितकाे अनुगमन गर्न नुवाकोट पुगेका प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहाल । तस्वीरः रासस
प्रधानमन्त्री सुशील कोइरालाले पालले बर्षा धान्न नसक्ने भएकाले जस्तापाता दिने तयारी भइरहेकाे बताएका छन् ।
महाभूकम्पबाट प्रभावित क्षेत्रका अनुगमन गर्दै प्रधानमन्त्री काेइरालाले भने, “पालले मात्रै झरी धान्न सक्दैन, पूर्ण घर भत्किएकाहरुलाई तत्काल जस्तापाता दिने तयारी भइरहेकाे छ ।”
उनले आपसी विश्वास र एकताले नै अहिलेको सङ्कटको सामना गर्न सकिने बताए । उनले भने, “राष्ट्रिय सङ्कटको यस अवस्थामा हामी एक भएर सबै समस्या समाधान गर्छौं, हामी दलहरु पनि एक छौँ ।”
प्रधानमन्त्री काेइरालाले कठिनभन्दा कठिन परिस्थितिमा समाधान खोजिरहेकाे देशमा याे महाबिपत्तिबाट पनि सफल हुने बताए । उनले भने, “भोलि नै घर बन्छ भनेर झुटो बोल्न पनि भएन, यो सम्भव पनि छैन, कमसेकम यो बर्खाको अवधि पार लगाउन के गर्ने भन्ने ध्यान दिनेछौैँ ।”
प्रधानमन्त्री काेइरालाले वर्षापछि भूकम्प प्रतिरोधी घर निर्माणको योजना बन्ने बताए । उनले राहत सामग्री वितरण सहज र समानुपातिक रुपमा वितरण गर्न निर्देशन दिए ।
“कुनै किसिमको पक्षपात नगरी, यो काँग्रेस, यो एमाले वा यो माओवादी भनेर पक्षपात नहोस्, कसैले औँलो उठाउन नपाओस्, हामीहरुकै बीचमा विभेद भएको कुरा आएमा राम्रो हुन्न”, उनले भने, “अरुसँग माग्नुपरेको अवस्था छ, कुन ठाउँमा बढी क्षति भएको छ, त्यहाँ प्राथमिकता दिनुपर्छ, आएको सबै सामग्री गाउँलेले उपभोग गर्न पाऊन् ।”
