समाचारबिहीबार, बैशाख २४, २०७२
वीर अस्पतालले बिरामी भर्ना लिन छाड्यो
भूकम्पले दुईवटा भवन चर्किएपछि वीर अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेको छ ।
४६० शय्याको अस्पतालमा आइतबारबाट ओपिडी र आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको छ ।
अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले एक सयभन्दा बढी शय्या भएका वार्डमा रातो स्टिकर टाँसिएको र बाँकी शय्या भएका वार्डमा पहेँलो स्टिकर टाँसिएपछि बिरामी भर्ना गर्न छाडिएको बताए ।
भर्ना गर्नुपर्ने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
‘अहिले त हामी क्लिनिकजस्तै अवस्थामा भएका छौँ, आएका सामान्य बिरामीको चेकजाँच गरी पठाउने र आकस्मिक कक्षमा आएकालाई परीक्षण गरी भर्ना गर्नुपर्ने भए अन्यत्र पठाउनुपर्ने अवस्था छ,’ डा. पण्डितले भने, ‘रातो र पहेँलो लगाएका ब्लकमा न बिरामी पठाउन मिल्यो, न डाक्टर जान मिल्यो ।
शय्या जति तिनै ब्लकमा थुनिएका छन् ।’ पहेँलो स्टिकर लगाएका ब्लक मर्मत गर्न खर्चको स्टमेट निकालेर मन्त्रालयबाट रकम निकासा भएपछि मात्रै पुनर्निर्माण हुने उनले जानकारी दिए ।
अस्पताल प्रशासनका अनुसार सहरी विकास मन्त्रालयबाट आएको प्राविधिक टोलीले नयाँ आइसियू भवन रहेको पश्चिमको ब्लक र अंकोलोजी विभाग रहेको दक्षिणतिरको ब्लकमा बस्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको छ ।
ती ब्लकमा रातो स्टिकर टाँसिएपछि आइसियू, क्याबिन, आवासीय चिकित्सकको ड्युटी रुम, ट्रान्सप्लान्ट सेन्टर, फिमेल वार्ड, प्लास्टिक तथा वर्न वार्डलगायतका वार्ड बन्द भएका छन् ।
मेडिकल अब्जरबेसन वार्ड, सर्जिकल अब्जरबेसन वार्ड, मेल/फिमेल मेडिकल वार्ड, सर्जरी, पोस्टअप वार्ड, सिटिपी, न्युरो, इएनटी, इमर्जेन्सीलगायतका विभाग तथा वार्डमा मर्मतसम्भारपछि मात्रै बस्न सकिने भन्दै पहेँलो स्टिकर टाँसिएको छ । ती विभाग तथा वार्डमा तीन सय ६० शय्या छन् ।
भवन चर्किएर बिरामी राख्ने अवस्था नभएकाले ओपिडी र इमर्जेन्सी मात्रै खुला गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार ओपिडीमा औसत एक हजार पाँच सय बिरामी आउने वीरमा इमर्जेन्सीका बिरामी दैनिक ५० भन्दा बढी आउने गरेका छन् ।
भूकम्पपछि वीरमा आएका घाइतेलाई नजिकैको ट्रमा सेन्टरमा लगी उपचार गराएको छ । अर्थोपेडिक र न्युरो विभाग पनि ट्रमा सेन्टरमा सारिएको छ ।
रामप्रसाद न्यौपाने
