समाचारबिहीबार, बैशाख २४, २०७२
संसद् अधिवेशन सुरु, शोक प्रस्ताव पारित
अधिवेशनको पहिलो दिन महाभूकम्पमा परी भएको जनधनको क्षतिका सम्बन्धमा प्रस्तुत विशेष प्रस्ताव र पूर्वसांसद् चक्रबहादुर ठकुरीको निधन भएकामा सर्वसम्मतले शोकप्रस्ताव पारित गर्दै सकिएकाे छ ।
बैठकको प्रारम्भमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति रामवरण यादवले संसद्को तेस्रो अधिवेशनबारे पठाएको पत्र वाचन गरे । सभामुख नेम्वाङले भूकम्पमा परी भएको जनधनको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गरे ।
“१२ वैशाखमा गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रिक्टर स्केलको भूकम्प र त्यसपछि पटक पटक गएका भूकम्पले हजारौँ व्यक्तिको ज्यान गएको तथा लाखौँ जनता घरबारविहीन भई विश्वसम्पदा सूचीमा रहेका बहुमूल्य सम्पदा एवम् पूर्वाधारको समेत क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ”, प्रस्तावमा भनिएको छ ।
बैठकले भूकम्पमा परी दिवङ्गत भएकाको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारप्रति सहानुभूति तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
शोक प्रस्ताव पारित
व्यवस्थापिका–संसद्को बैठकले २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सदस्य चक्रबहादुर ठकुरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।
लोकतान्त्रिक आन्दोलनका योद्धा ठकुरीको ५७ वर्षका उमेरमा १२ वैशाखमा रसुवाबाट काठमाडौँ आउने क्रममा भुइँचालोसँगै गएको पहिरामा परी मृत्यु भएको थियो । बैठकले उनको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
व्यवस्थापिका–संसद्को अर्को बैठक २५ वैशाख अपराह्न १३.०० बजे बस्नेछ ।
संविधानभा बैठक जेठ १ मा
२५ वैशाखका निम्ति डाकिएको संविधानसभाको बैठक आगामी १ जेठमा हुने भएको छ ।
विशेष कारणवश उक्त बैठक सो दिन अपराह्न ३ बजे बस्ने सभामुख सुवास नेम्वाङले बैठकलाई जानकारी गराए ।
