समाचारबिहीबार, बैशाख २४, २०७२
काठमाडौंतर्फ ल्याइँदै गरेका करिब ४० बालबालिकाको उद्धार
धादिङबाट काठमाडौंतर्फ ल्याइँदै गरेका करिब ४० जना स्कुले बालबालिकालाई केन्द्रीय बालकल्याण समितिको पहलमा उद्धार भएको छ ।
भूकम्पबाट प्रभावित धादिङका बालबालिकालाई एउटा बसमा राखेर काठमाडौं ल्याउन थालेको सूचना प्राप्त भएपछि नियन्त्रणमा लिई बालबालिकाको उद्धार गर्ने प्रयास भइरहेको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिए ।
“एकै पटक ठूलो संख्यामा बालबालिकालाई कुनै डकुमेन्ट बिना नै धादिङबाट ओसार्न थालेको सूचना प्राप्त भएपछि हामी उद्धारका लागि सक्रिय भएका छौं,” धितालले भने, “बेलुकासम्म बालबालिका हामीकहाँ आइपुग्छन् ।”
उनले सम्बन्धित निकायलाई कुनै जानकारी नै नदिई र कुनै आधिकारिक कागजपत्र बिना बालबालिका ओसारपसार गर्नु कानून र बालअधिकार विपरित हुने बताए ।
“नख्खुको निर्मल सेकेन्डरी स्कुलले बालबालिका ल्याउन लागेको भन्ने बुझिएको छ, कुन उद्देश्यले बालबालिका ल्याउन लागेको हो, विस्तृत विवरण आइपुगेको छैन,” कार्यकारी निर्देशक धितालले भने ।
विपत्तिका बेला विभिन्न बाहनामा बालबालिकाको ओसारपसार हुनसक्ने भएकाले सबैलाई सचेत रहन बालअधिकार कर्मीहरुले आग्रह गरेका छन् ।
