समाचारशुक्रबार, बैशाख २५, २०७२

होशियार ! विपतको बेला बालबालिकाको ओसारपसार हुँदैछ

हिमालखबर

मुलुकले महाभूकम्पको मार खेपिरहेका बेला विभिन्न बहानामा बालबालिकाको ओसारपसार गरी गलत काममा लगाउने प्रवृत्तिबाट होशियार रहन राष्ट्रिय बाल कल्याण समितिले आग्रह गरेको छ ।

२४ वैशाखमा धादिङबाट काठमाडौं ल्याइएका ४५ जना बालबालिकालाई अहिले बालकल्याण समितिले आफ्नो निगरानीमा राखेको छ । नख्खुको निर्मल स्कुलले उद्धारको बहानामा धादिङका विभिन्न गाविसबाट २१ जना बालिका र २४ जना बालकलाई काठमाडौं ल्याएको हो ।

“बालबालिका अहिले हाम्रो निगरानीमा निर्मल स्कुलमै छन्, ठूलो संख्याका बालबालिकालाई राख्न तत्कालै सुविधाजनक अर्को ठाउँ नभएकाले अहिले हाम्रै निगरानीमा सक्दो सुविधा दिएर स्कुल परिषरमै राखेका छौं,” समितिका कार्यकारी निर्देशक तारक धितालले भने, “बालबालिकालाई चाँडै अभिभावकको जिम्मा लगाउने प्रयासमा छौं ।”

स्कुलमा बालबालिका राख्ने होस्टेलको व्यवस्था नभएको, कुनै आधिकारिक कागजपत्र नभएको र कुनै निश्चित योजना बिनै उनीहरुलाई अभिभावकबाट छुट्टयाइएकोले राम्रो नियत नदेखिएको पनि निर्देशक धितालले भने ।

अन्तर्राष्ट्रिय नियम, राष्ट्रिय बालबालिका सम्बन्धी नीति, बालअधिकार र नैतिकताका हिंसाबले पनि विपत्तिका बेला बालबालिकालाई अभिभावकबाट अलग्याउन नपाइने उनले बताए । भने, “अभिभावक गुमाएका बालबालिकालाई पनि आफन्तसँग समाजमै सुरक्षित राख्ने व्यवस्था मिलाउनु पर्छ ।”

बालबालिकामाथि ठूलो संकट आइपरेको, उनीहरुका आफन्तसमेत नभएको तथा समाजमा पुनस्र्थापना गर्न नसकिने अवस्थामा भएमा मात्र जिल्ला वालकल्याण समिति र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई पुनस्र्थापना गर्न सकिने उनले जानकारी दिए ।

“तर निर्मल स्कुलले पूर्व स्वीकृति लिनु त परको कुरा बालबालिकाको आवासको समेत व्यवस्था गरेको छैन, त्यसैले नियतमा खोट देखिन्छ,” धितालले भने ।

धादिङबाट काठमाडौं ल्याउन लागिएका बालबालिकामध्ये एक बालक रोइकराई गर्दै भागेपछि उनलाई धादिङमै छोड्न स्कुल बाध्य भएको थियो ।

धादिङका स्थानीय प्रकाश तामाङ र जंगबहादुर तामाङको सहयोगमा स्कुलकी प्रिन्सपल सिपोरा लामा लगायतले स्कुल बसमा ठूलो संख्यामा बालबालिका ल्याउँदै गरेको सूचना पाएपछि समितिले प्रहरीको सहयोगमा बसलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>