समाचारशुक्रबार, बैशाख २५, २०७२
प्रधानमन्त्रीकाे सम्बाेधनः घर भत्केकालाई २ लाख, पीडितलाई निशुल्क शिक्षा
संसदकाे अधिवेशनमा प्रधानमन्त्री सुशील काेइरालाले महाभूकम्पमा परी पूर्ण क्षति पुगेकाे घर निर्माण गर्न सरकारले दुई लाख दिने बताएका छन् ।
उनले अांशिक क्षति पुगेकाे घर मर्मत गर्न २५ हजार दिने घाेषणा गरेका छन् । सरकारले मृतककाे किरिया खर्च ४० हजार र मृतक परिवारलाई एक लाख दिन सुरु गरिसकेकाे प्रधानमन्त्री काेइरालाले बताए ।
पाँच बर्षभित्र पुनःनिर्माण गरिसक्ने प्रतिवद्धता समेटिएकाे संकल्प प्रस्तावमा शहरमा २५ लाखसम्म र गाउँमा १५ लाखसम्म ऋण २ प्रतिशत ब्याजमा दिने जनाइएकाे छ ।
उनले झण्डै दुई दर्जन भन्दा बढी अन्तर्राष्टिय टोलीले खोजी तथा उद्दार कार्यमा सहयाेग गरेकामा धन्यवाद दिए । काेइरालाले भने, “विदेशी टाेली फर्कने क्रम शुरु भएपनि राष्ट्रिय टोलीले खोजी, उद्दार तथा राहतमा लागिरहने छ।”
महाभूकम्पपछि उत्पन्न भएको अस्तव्यस्तताको मौका छोपी कालो बजारी गर्नेलाई कारबाही गर्ने कार्य शुरु भएकेा प्रधानमन्त्री काेइरालाले बताए । उनले राहतको पक्षपात वा हिनामिना गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने जनाए ।
प्रधानमन्त्री काेइरालाले पीडित परिवारलाई कार्डकाे व्यवस्था गरी राेजगारीमा विषेश प्राथामिकता दिने बताए । सरकारले भूकम्प पीडितको बैक ऋणमा अवस्था हेरी व्याज मिनाहा र ५० हजार बराबरको सावा र व्याज मिनाह गर्ने भएकाे छ ।
अत्यावश्यक बाहेक मन्त्रीहरुले विदेश भ्रमण नगर्ने उल्लेख गर्दै प्रधानमन्त्री काेइरालाले भने, “भूकम्पको प्रभावित स्कूल तत्काल सञ्चालनमा ल्याइने छ।”
