समाचारशुक्रबार, बैशाख २५, २०७२
अव मन मिलाअाैं एक साथ अघि बढाैः अाेली
व्यवस्थापिका–संसद्को बैठकमा विशेष समय लिएर बोल्दै सत्तारूढ र विपक्षी दलका नेताले एकताबद्ध भई भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनाका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन जोड दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रले भूकम्पपछिको विपत्तिमाथि अवश्य विजय प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
उनले भूकम्पबाट प्रभावितलाई राज्यले सम्पूर्ण स्वदेशी तथा विदेशी स्रोतको परिचालन गरेर नागरिकलाई सुरक्षित आवासको प्रबन्ध गर्ने बताए ।
“नेपाल राष्ट्रले विगतमा पनि यस्ता सङ्कटको बहादुरीकासाथ सामना गर्दै आएको छ र आज पनि सामना गरेर यसमाथि विजय प्राप्त गर्न सक्नेछौँ भन्ने कुरामा म विश्वस्त छु” उनले भने, “कहिल्यै घाम नअस्ताउने उपनिवेशवादको पनि बहादुरीका साथ प्रतिरोध गरेर राष्ट्रिय स्वाधीनता जोगाउन सक्षम राष्ट्रले यस विपत्तिमाथि अवश्य विजय प्राप्त गर्नेछ ।”
आफ्नो पार्टी उद्धार, राहत र पुनःस्थापनाका काममा जनताका साथ रहेको जनाउँदै आफ्ना घर/परिवारमा क्षति भए पनि सुरक्षाकर्मीले खटिएर गरेको कामकाप्रति आभार व्यक्त गर्दै उहाँले छिमेकीसहित विदेशी सहयोगीलाई पनि धन्यवाद दिए ।
उनले उद्धारसम्बन्धी काम सकिएपछि विदेशी उद्धारकर्तालाई बिदा दिनु राम्रो भएको जनाउँदै यस्तो सङ्कटको बेलामा राहत र सहयोगका नाममा महान समाजसेवी बन्न खोज्नेकाप्रति असन्तोष व्यक्त गर्दै एकीकृत राहतका लागि सरकार नै भरपर्दाे भएको पनि स्पष्ट गरे ।
अध्यक्ष ओलीले नब्बे साल (विसं १९९०) को भूकम्पलाई पनि नेपालीले मिलेर सामना गरेको सन्दर्भ उल्लेख गर्दै मतभेद नराखी एकताबद्ध भई अघि बढ्न र संविधान निर्माणको कामलाई पनि एकैसाथ गति दिन आग्रह गरे । “हामी असामान्य अवस्थामा छौँ । अब मन मिलाऊँ, यसका लागि के विधि अपनाउनुपर्छ, त्यो अपनाऊँ”, ओलीले भने ।
उनले हाल बेपत्ता रहेका नागरिकप्रति निश्चित समय राखी त्यसपछि मृत घोषणा गरी परिवारलाई राहतको व्यवस्था गर्न माग गरे । “सबै एक भएर लाग्नुपर्छ, नवनिर्माणमा लाग्नुपर्छ”, उनले भने ।
मेलमिलाप र सहकार्य गरौंः पौडेल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारले विपत्तिमा परेका जनतालाई विश्वास दिलाउने कोसिस गरेको तथा प्रधानमन्त्री सुशील कोइरालाको सम्बोधनले देशलाई आश्वस्त पार्नेगरी राहतका विषयमा स्पष्ट पारे पनि यसको कार्यान्वयनको प्रश्न अनुत्तरित रहेको बताए ।
उनले यस स्थितिमा सही तथ्याङ्क लिएर यसलाई एकीकृत र प्रभावकारी तथा न्यायपूर्णरुपमा सम्पादन गर्न सक्नु महत्वपूर्ण रहेकाे बताए ।
उनले भूकम्पपछि देशका सरकार, दल र नेता बदमास र भ्रष्ट हुन् भन्ने प्रकारको भ्रम सिर्जना गरिएको भन्दै त्यसको सहकार्य र एकताबाट सामना गर्न आफूहरु तयार रहेको भन्दै त्यसका लागि सरकारमा पनि सहकार्य गर्न सकिने बताए ।
“मोही माग्ने ढुङ्ग्रो लुकाउने कुरा नगरौँ, नव नेपाल निर्माणको सङ्कल्पको यसबेला बिपी र पुष्पलालले भनेझैँ मेलमिलाप र वाम–लोकतान्त्रिक एकताका लागि संयमका साथ अघि बढ्नुपर्छ” उनले भने, “विज्ञ र प्राविधिकलाई राखेर स्थानीय सामग्री प्रयोग गरी एकीकृत बस्ती बसाल्नतिर लाग्नुपर्छ । राष्ट्रका सारा नेपालीलाई सुरक्षित घर दिन सक्नुपर्छ ।”
उनले विदेशीको मुख ताकिरहनुपर्ने अवस्था पनि छैन भन्दै सरकारले यकिन तथ्याङ्क ल्याई निश्चित आवश्यकता, क्षेत्र र काम तोकेर सहयोग मागेमा अन्तर्राष्ट्रिय समुदायले पनि त्यसलाई साथ दिने बताए ।
स्थानीय निर्वाचन गरौंः थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताले अपेक्षितरुपमा राहत र सुविधा प्राप्त गर्न सकेका छैनन् भन्दै अहिलेको अवस्थामा जोसुकै सरकारमा रहेको भएपनि स्थितिमा खासै फरक नआउने अवस्था बताए ।
उनले यसै वर्षभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न माग गरे । उनले स्थानीय निकाय भएको भए राहत र पुनःस्थापनाका काम प्रभावकारी हुने थियो भन्दै पीडामा रहेका परिवारलाई प्रस्तावित रकम न्यून हुने बताए ।
