समाचारशनिबार, बैशाख २६, २०७२

सम्पादक घिमिरेलाई धम्की दिएकोमा महासंघको आपत्ति

हिमालखबर

भारतीय दूतावासका प्रथम सचिव एवम् प्रवक्ता अभयकुमारले अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

“अभयकुमारले मलाई फोन गरी पीत पत्रकारिता गरेको भने, उनको बोलीको शैली र भाषा समेत शिष्ट थिएन,” सम्पादक घिमिरेले हिमालसँग भने, “मैले म तपाइँसँग कुरा गर्दिन तपाइँको हायर अथोरिटीसँग कुरा गर्न चाहन्छु, कुरा गराउनुस भनेको थिएँ ।”

उनले कोही कतैबाट धम्की दिइँदैमा आफू पत्रकारिताको मूल्य र मान्यताबाट विचलित नहुने बताए ।

महासंघका महासचिव उजिर मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वतन्त्र पत्रकारिताको मर्म विपरित धम्क्याउनु निन्दनीय भएको उल्लेख छ।

नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफैंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ।

आफू अनुकुल नहुँदैमा सञ्चारकर्मीलाई आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन नसक्ने भन्दै महासंघले घटना छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

पीतपत्रकारिता गर्नुभयो भनेकै हुँः अभयकुमार
सम्पादक युवराज घिमिरेलाई आफूले कुनै धम्की नदिएको र दुर्व्यवहार पनि नगरेको दूतावासका अभयकुमारले दावी गरेका छन् ।

उनले अन्नपूर्णपोष्टले दूतावाससँग कुनै सम्पर्क नगरी पत्रकारिताको मर्मविपरित ‘पीत पत्रकारिता’ गरेको भन्दै उनकै लहलहैमा नेपालपत्रकार महासंघले पनि विज्ञप्ति जारी गरेको आरोप लगाए ।

अभयकुमारले हिमालसँग भने, “मेरो युवराजजीसँग कुरा भएको हो, मैले किन पीत पत्रकारिता गर्नु भयो भनी सोधेको थिएँ, धम्काएको भन्ने साँचो होइन ।”

उनले अगाडि भने, “उहाँले लगातार एकपक्षीय एवम् आधारहीन समाचार र सम्पादकीय प्रकाशित गरिरहनुभएको छ, कम्तीमा पनि हामीलाई सोधेको भए कुरा के हो स्पष्ट पार्थ्यौं त्यस्तो आधारहिन पत्रकारितालाई के भन्ने ?”

अभयकुमारले आफूले सम्पादक घिमिरेलाई कुनै धम्की वा चेतावनी दिएको नभई ‘पीत पत्रकारिता’ किन गरेको भनी सोधेको तथा पत्राकर महासंघले पनि आफूलाई नसोधी एकपक्षीय रुपमा विज्ञप्ति जारी गरेको उनको भनाई छ  ।

दूतावासको विज्ञप्ति
यसअघि २४ वैशाखमा भारतीय दूतावासले अन्नपूर्ण पोष्टमा आधारहिन रिपोर्ट प्रकाशित भएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

अन्नपूर्णपोष्टमा २३ वैशाखमा प्रकाशित ‘भारतीय जहाजबाट आजित भयौं’ र त्यसपछि प्रकाशित सम्पादकीय ‘उद्धार कि अवज्ञा’ प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

दूतावासका अनुसार भारतीय सेनाका विमानहरुको प्रमुख जिल्ला अधिकारीसँग प्रत्यक्ष सम्पर्क नभई नेपाली सेनाका ‘लियाजो अफिसर’ सँग सम्पर्कमा रहेको तथा भारतीय सेना र भारतीय सेनाका विमानहरुको उडान नेपाली सेनाले भने अनुसार नै हुने गरेको जनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>