समाचारआइतबार, बैशाख २७, २०७२

भक्तपुरमा चार हजार घर उच्च जोखिममा

हिमालखबर

१२ वैशाखमा गएको महाभूकम्प र त्यसपछिका पराकम्पले भक्तपुरमा करिब चार हजार घर उच्च जोखिमयुक्त जीर्ण बनेका छन् ।

भूकम्पले क्षति पुर्‍याएका घर पूर्ण रुपमा ढल्न नसकी ढल्किएर जीर्ण अवस्थामा रहेपछि भक्तपुरका बासिन्दा आफ्नै घरमा जान समेत नसक्ने भएका छन् ।

भक्तपुर नगरपालिका क्षेत्रभित्र दुई हजार तथा मध्यपुरथिमि, अनन्तलिङ्गेश्वर, महामञ्जुश्री नगरकोट, सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रभित्र थप दुई हजार घर जोखिममा छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता श्यामकृष्ण अधिकारीले भक्तपुर नगरभित्र मात्र करिब दुई हजार घर उच्च जोखिममा रहेको बताए । यहाँका कतिपय घरको एकपाखो ढलेको र केही घर अगाडि ढल्किएको तथा केही अग्ला घर आधा मात्र भत्किएर केही भाग झुन्डिएको अवस्थामा छन् ।

उच्च जोखिममा रहेका घर दैनिक जाने ससाना धक्काका भूकम्प र घामपानीका कारण पनि आफैँ भत्किन थालेको सूर्यमढीका प्रकाश प्रजापतिले बताए ।

सूर्यमढी, जेँला, भेलुखेल, चोर्चा, तौमढीलगायत क्षेत्रमा यस्ता घर उच्च जोखिममा छन् । सुरक्षाकर्मीको टोलीले यस्ता घर भत्काउन थाले पनि भक्तपुर नगरको गल्लीभित्रका कैयौँ घर सहजै भत्काउन नसकिने भएपछि झनै समस्या परेको छ ।

प्रहरी प्रवक्ता अधिकारीले जोखिममा रहेका यस्ता घर भत्काउन क्रेनकै आवश्यकता पर्ने तर क्रेन मगाउँदा पनि नआएकाले भत्काउन नपाइएको बताए ।

काठमाडौंमा रहेका चार वटा क्रेन उतैका घर भत्काउन व्यस्त रहेकाले भक्तपुरमा क्रेन मगाइएको चार दिन भइसक्दा पनि आएको छैन ।

सहायक प्रजिअ कमल ढकालले नगरभित्रका यस्ता जोखिमपूर्ण घर भत्काउने प्रयास गरिए पनि कतिपय ठाउँमा डोजर नजाने र कतिपय ठाउँमा स्थानीयवासीले एउटा घर भत्काउँदा अर्को घर झन् जोखिम हुने भनी भत्काउन अवरोध गरेको बताए ।

साँघुरा गल्लीका यस्ता कतिपय घर प्रहरी र सेनाले भत्काए पनि अझै निकै घर भत्काउन बाँकी रहेको छ ।

यस्ता घरका कारण कतिपय छिमेकी घरका बासिन्दा क्षति नभएका घरमा समेत जान नसकेको स्थानीयवासीको भनाइ छ ।

भूकम्पविद् डा सोमनाथ सापकोटाले भने जोखिमपूर्ण यस्ता घरलाई तत्काल नभत्काए अझै क्षति निम्त्याउन सक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>