समाचारसोमबार, बैशाख २८, २०७२

६ देशका सैन्य टोली फर्किए, १५ दिनमा सबै फर्किसक्ने

हिमालखबर

नेपालमा महाभूकम्पपछि सहयोगका लागि १८ देशका सैन्य टोली आएकामा ६ देशका टोली फर्किसकेका छन् भने १२ देशका टोली अबको १५ दिनमा फर्किसक्ने नेपाली सेनाले जनाएको छ ।

यसमध्ये तुरुन्तै खोज र उद्धार (सर्च एण्ड रेस्क्यू) का लागि आएका सबै टोली फर्किसकेका छन् । अहिले नेपालमा चिकित्सा, उद्धार र निर्माणमा खटिएका सैन्य टोली रहेको नेपाली सेनाको वहुदेशीय सैन्य संयोजन समितिले जनाएको छ ।

यसमध्ये अल्जेरिया, मलेशिया, पोल्याण्ड, बंगालदेश, सिंगापुर र स्पेनको सम्पूर्ण टोली फर्किसकेको छ भने थाइल्याण्डको फर्कने तयारीमा छ । पाकिस्तानी मेडिकल टोली पनि अर्को हप्ता फर्कने तयारीमा छ ।

अहिले भारतका ७०४, चीनका ८४४, जापानका ३१६, अमेरिका २६४, इजरायलका २३५, श्रीलंका १४१, क्यानाडा १५६, पाकिस्तान ४९, बेलायत १५, इन्डोनेशिया ५१, भुटान ७७ र थाइल्याण्ड ३७ गरी जम्मा २ हजार ८९७ जनाको विदेशी सैन्य टोली नेपालमा कार्यरत छ ।

यसमध्ये भारत, भुटान, क्यानाडा, जापान, अमेरिका, चीन र इन्डोनेशियाका टोली मे महिनाको अन्त्यसम्म नेपालमा रहनेछन् ।

भारतीय सैन्य टोलीले गोर्खाको बारपाक, काठमाडौंको सिनामङ्गल र ललितपुरको लगनखेलमा चिकित्सा शिविर सञ्चालन गरिरहेको छ । त्यसैगरी भक्तपुरमा भग्नावशेष पञ्छाउने र जोखिमपूर्ण संरचनाहरु भत्काउनमा पनि भारतीय टोली खटिएको छ ।

काठमाडौं र सिन्धुपाल्चोका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको चिनियाँ टोली फर्किसकेको छ भने अहिले चीनको टोलीले सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा सडक खुलाउने र चौतारामा सरसफाई र सम्भावित महामारी नियन्त्रणमा खटिएको छ ।

भुटानको मेडिकल टिमले नुवाकोटमा, इन्डोनेशियाको टोलीले सतुंगलमा र जापानी टोलीले टुंडीखेल र चावहिलमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

ओस्प्रे विमानसहित आएको अमेरिकी सेनाको टोली नेपाली सेनाको संयोजनमा राहत सामाग्री वितरणका लागि खटिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>