समाचारसोमबार, बैशाख २८, २०७२

पुन:निर्माणमा सहयोग गर्छौं: इन्डोनेशिया

हिमालखबर

इन्डोनेसिया सरकारले नेपालमा भूकम्पबाट भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सहयोग गर्ने इच्छा प्रकट गरेको छ ।

इन्डोनेसियाका राजदूत आइवान विरान्ता एटमाडजाले सहायताको आवश्यकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्न नेपाल सरकारसँग आग्रह गरेको बताए ।

प्रधानमन्त्री सुशील कोइरालालाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले राजदूत एटमाडजमार्फत एक सन्देश पठाई भूकम्पबाट नेपालमा पुगेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै पुनःनिर्माणका लागि सहयोग गर्ने चाहना व्यक्त गरेको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री कोइराला र राष्ट्रपति विडोडोबीचमा इन्डोनेसियाको राजधानी जकार्तामा एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशौं वार्षिकोत्सव समारोहका बेला द्विपक्षीय भेटघाट भएको थियो ।

राजदूत एटमाडजाले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाअन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, जनताका घर, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माणमा सहयोग गर्न सकिने बताएका छन् ।

उनले प्रकोप पूर्वका जोखिम न्यूनीकरण, उद्धार, राहत एवम् पुनःनिर्माणमा इन्डोनेसियाको अनुभव नेपालका लागि महत्वपूर्ण हुन सक्ने र त्यसका लागि नेपालका सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालयजस्ता निकायको थप क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्न सकिने पनि बताए ।

प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा प्रसिद्धि कमाएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन समितिलाई पनि नेपालको विपद् व्यवस्थापनमा उपयोग गर्न सकिने धारणा उनले व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>