समाचारसोमबार, बैशाख २८, २०७२

‘गैरसरकारी संस्थाले मनपरी गरे’

हिमालखबर

vatkiyako ghar banaudai sthaniyaभूकम्प पीडितलाई राहत वितरणमा गैर सरकारी संस्थाहरुले मनपरी गरेको भन्दै लमजुङमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिले असन्तुष्टी जनाएका छन् ।

जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा दलका नेता र सरकारी कर्मचारीको संयुक्त अनुगमन पश्चात प्रतिनिधिहरुले गैरसरकारी संस्था प्रति असन्तुष्टी जनाएका हुन् ।

“भूकम्प पीडितलाई राहत वितरण गरेका केही गैर सरकारी संस्थाले ‘तिम्रो सरकारले के गरेको छ र ?’ भनेको सुनियो”, जिल्ला प्रकोप उद्धार समितिको बैठकमा नेपाली काँगे्रस लमजुङका सभापति कृष्ण कोईरालाले भने, “दल र सरकार विरुद्ध लागेका रहेछन् ।”

‘वल्र्ड भिजन लमजुङ’ले क्रिश्चियन समुदायमा मात्र राहत दिएको छ । लमजुङको गौँडा गाविसमा वितरणका लागि पठाइएको राहत कोल्कीको क्रियश्चिन समुदायमा मात्रै वितरण भएको थियो ।

त्यस्तै केही संस्थाहरुले गाउँमा राहत वितरण गर्दा गाविस सचिवलाई समेत बेवास्ता गरेका छन् । सचिवसँग समन्वय गर्दा वास्तविक पीडित छुट्टयाउन सहज हुने र दोहोरो नहुने धमिलीकुवाका भोजराज चिलुवालले बताए ।

जिल्ला प्रकोप व्यवस्थापन समितिले लमजुङमा राहत वितरण गर्दा समितिलाई जानकारी गराई उपलब्ध भएसम्म गाविस सचिवको समन्वयमा वितरण गर्न भनेको छ ।

जिल्लामा क्रियाशिल गैरसरकारी संस्थासँगको संयुक्त बैठकमा दलका प्रतिनिधिहरुले अनावश्यक हल्ला नचलाउने आग्रह गरे ।

एमाओवादी लमजुङका अध्यक्ष पारसमणी पौडेलले भने, “आफूखुशी राहत वितरण गर्ने एनजिओ लमजुङमा नआए हुन्छ ।”

“राहतका नाममा विकृति फैलाउन खोज्नेहरुलाई यहाँ स्वागत गरिंदैन,” प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, “राहतका नाममा आहत पार्नेहरु पनि देखिए ।”

स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले गैर सरकारी संस्थालाई राजनीतिक भाषा नबोल्न चेतावनी दिंदै भने, “राजनीति गर्ने हो भने दलमा आवद्ध हुनुस् ।”
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>