समाचारसोमबार, बैशाख २८, २०७२

जन्तीलिएर गएका बेहुलाको प्रहरी चौकीमा बास

हिमालखबर

प्रहरी चौकीमा २२ वर्षीय बेहुला ललन ।

प्रहरी चौकीमा २२ वर्षीय बेहुला ललन ।

जन्ती र बाजागाजा सहित बेहुली लिन गएका रौतहटका एक बेहुलाले बेहुली त पाएनन् नै उल्टो एकरात प्रहरी सुरक्षामा विताउनु पर्‍यो ।

रौतहटको प्रेमपुर, गोनाही– ६ बाट ललनकुमार भगत माली वरियारपुर–६ चिलमिलिया टोलस्थित बेहुलीको घरमा जन्ती लिएर पुगे ।

२७ वैशाख राति ९ बजे बेहुलीको घर पुगेका जन्तीको स्वागत सत्कार हुँदै थियो, त्यसैबेला कसैले बेहुलाको अर्कै केटीसँग प्रेम रहेको बेहुलीपक्षलाई सुनाइदिए ।

बिहेको कुरा छिन्दा नै डेढ लाख नगद र जिन्सी सामान दाइजो दिएका बेहुली पक्ष आत्तिए । उनीहरुले विवाह रद्द गर्दै दाइजो फिर्ता माग्न थाले । बेहुला पक्ष भने बेहुली लिएरै जाने भन्दै बेहुली पक्षलाई सम्झाईबुझाई गर्न लागे पनि विवाद बढदै गयो । दुवै पक्षबीच झडप हुँदा बेहुला पक्षलाई उद्धार गर्न प्रहरी नै आउनु पर्‍यो ।

वरियारपुर प्रहरी कार्यालयको टोलीले बेहुलीको घरबाट बेहुला ललनकुमार, उनका बाबु बिगु भगत, काका रामबाबु, आफन्त अनिल र बेहुला चढेर आएको गाडीका चालक वीरेन्द्र यादवलाई उद्धार गरी प्रहरी कार्यालय लग्यो । बेहुली लिन आएका उनीहरुले प्रहरी कार्यालयमै रात विताए ।

२८ गते विहान प्रहरीको रोहबरमा भएको छलफलमा पनि बेहुला पक्षले बेहुलाको अर्कैसँग प्रेम नभएको दाबी गर्दै विवाहका लागि आग्रह गरिरहे तर, बेहुली पक्ष तयार भएनन् ।

अन्त्यमा बेहुला पक्षले ८ जेठभित्र १ लाख २० हजार रुपैयाँ बेहुलीपक्षलाई बुझाउने कागज गरी सम्झौता भएपछि विवाद टुङ्गिएको छ । बेहुला बनेर आएका ललन फेटा र टाइ हातमै झुण्ड्याएँदै  एक्लै घर फर्केका छन् ।
सञ्जय साह, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>