समाचारबुधबार, बैशाख ३०, २०७२
६ अमेरिकी र २ नेपाली सैनिकसहित अमेरिकी सेनाको हेलिकोप्टर बेपत्ता
२९ वैशाख, मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पपछि उद्धारमा खटिएको एक अमेरिकी सैनिक हेलिकोप्टर संपर्कमा आउन सकेको छैन ।
दिउँसो काठमाण्डौबाट दोलखातर्फ उडेको अमेरिकी सैनिक हेलिकोप्टरमा ६ जना अमेरिकी तथा दुईजना नेपाली सैनिकहरु रहेको बताइएको छ।
उक्त हेलिकोप्टरको खोजीका लागि अर्को अमेरिकी हेलिकोप्टर गए पनि फेला पार्न सकेन ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एकजना प्रवक्ता कर्णेल स्टीभ वारेनले रात परेका कारण हवाइ खोजी कार्य स्थगित गरिएको तर नेपाली सेनाको टोलीले स्थलगत खोजी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
“हेलिकोप्टरको स्थिति के छ भन्ने हामीलाई थाहा छैन,” वारेनलाई बीबीसीले उद्धृत गरेको छ ।
दोलखाको चरिकोट क्षेत्रमा हेलिकोप्टर हराइरहेको समाचारहरुमा जनाइएको छ।
१२ बैशाखमा गएको महाभूकम्पपछि पटक पटक पराकम्पन हरु आइरहेका छन्। ती मध्ये मंगलबारको भूकम्प त्यसयताको सबैभन्दा ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
