समाचारबुधबार, बैशाख ३०, २०७२
मङ्गलबारको भूकम्पबाट देशभर ७६ को मृत्यु
२९ वैशाखमा गएको शक्तिशाली भूकम्पपछि हालसम्म ७६ जनाको मृत्यु भएको छ भने दुई हजार ३६४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि मुलुकभर मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।
भूकम्पपछि गम्भीर घाइतेमध्ये २५ जनालाई आजै सिन्धुपाल्चोक, रामेछाप र दोलखाबाट हेलिकप्टर मार्फत काठमाडौँ ल्याई विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
अमेरिकी सेनाको हेलिकप्टर अझै भेटिएन
साथै, भूकम्पप्रभावित क्षेत्रमा उद्धारका लागि दोलखा गएको अमेरिकी सेनाको हेलिकप्टर मङ्गलबार अपराह्नदेखि सम्पर्कविहीन भएकोमा हालसम्म पनि कुनै सम्पर्क नभएको प्रवक्ता बलले जानकारी दिए ।
उनले सो हेलिकप्टर दोलखाको सुनखानी आसपासको क्षेत्रमा हुनसक्ने आशङ्कामा खोजीकार्यका लागि अन्य हेलिकप्टर र स्थलगत रुपमा त्यसतर्फ सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए ।
