समाचारबिहीबार, बैशाख ३१, २०७२

मनास्लु पदमार्गका सबै होटल ध्वस्त

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

विदेशी पर्यटकको चाप बढ्दै गएपछि गोरखाको मनास्लु पदमार्गमा धमाधम खुलेका होटल भूकम्पले ध्वस्त बनाएको छ ।

१२ वैशाख र त्यसपछि गइरहेको भूकम्पले पदमार्गका सयौँ होटल ध्वस्त भएको हो । दोस्रो व्यापारिक केन्द्र आरुघाट बजारदेखि सामागाउँको धर्मशालासम्म पदमार्गका दायाँबायाँ खुलेका सानाठूला होटलमा पूर्ण क्षति भएको छ ।

आरुघाट, आर्खेत, सोतीबजार, लापुबेंसी, माछाखोला, जगत, फिलिम, चुम्चेत, छेकम्पार, बिही, प्रोक, स्याला, सामागाउँ, साम्दो र धर्मशालामा खुलेका १२८ होटल भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको छ ।

आन्तरिक तथा विदेशी पर्यटकको पदमार्गमा चाप बढेपछि उत्तरी भेगका स्थानीय होटल व्यवसायतर्फ आकर्षित भएका थिए । पदमार्गको छेउछाउमा इन्टरनेटसहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको थियो ।

अन्नपूर्ण पदमार्ग मोटरबाटो पुगेपछि विदेशी पर्यटक मनास्लु पदमार्गमा पदयात्रा गर्न रुचाउँथे । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को तथ्याङ्कअनुसार सन् २०१४ मा छ हजार जना विदेशी पर्यटकले मनास्लु पदमार्ग भई उत्तरी गोरखा र लार्केपास गरी मनाङ हुँदै झरेको देखिन्छ ।
आन्तरिक पर्यटक कति जनाले मनास्लु क्षेत्र भ्रमण गरे भन्नेबारे यकिन तथ्याङ्क एमक्यापसँग छैन ।

मनास्लु पदमार्ग नौ दिनदेखि २७ दिनसम्म पदयात्रा गर्न मिल्ने पदमार्ग हो । मनास्लु हिमाल आरोहण गर्न विभिन्न देशका टोली पनि पदमार्ग हुँदै सामागाउँस्थित मनास्लु हिमालको आधार शिविर पुग्छन् । भूकम्प गएपछि पनि तीन टोली मनास्लु हिमाल आरोहणका क्रममा रहेको सामागाउँका स्थानीयवासीले जनाएका छन् ।

एमक्यापका प्रमुख राजकुमार श्रेष्ठले भने, “पदमार्गको सबैजसो होटलमा क्षति पुगेको छ । विस्तृत जानकारी स्थलगत अध्ययनपछि मात्रै थाहा हुन्छ ।”

 

भूकम्पले क्षतिग्रस्त गोरखा दरबार

भूकम्पले क्षतिग्रस्त गोरखा दरबार

ऐतिहासिक गोरखा दरबार वरपरका संरचना पनि ध्वस्त
यही वैशाख १२ गते गएको भूकम्प र त्यसपछि आएको पराकम्पनले तत्कालीन राजा राम शाहको पालामा बनेको ऐतिहासिक गोरखा दरबारसँगै वरपरका ऐतिहासिक सम्पदा नष्ट भएका छन् ।

चार सय वर्ष पुरानो गोरखा दरबार, गोरखनाथ गुफा र कालिकाको मन्दिर भूकम्पले ध्वस्त बनाएको छ ।

गोरखा दरबारमा राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरुले राज्य गरेको इतिहास छ । “जीर्ण भइसकेको दरबार भूकम्प र त्यसपछिका झट्काले ध्वस्त बनायो”, दरबार हेरचाह अड्डाका प्रमुख गणेशप्रसाद भट्टराईले भने, “जगदेखि नै दरबारको पुनःनिर्माण गर्नुपर्छ, दरबारको अवस्थाबारे पुरातत्व विभागका इन्जिनियरले अध्ययन गरेर फर्केका छन् ।”

“पुरातत्व विभागले तत्कालै गोरखनाथ गुफा बनाउन निर्देशन दिएको छ”, भट्टराईले भने, “रकम निकासा भएको छैन, काम शुरु गर्न पाइएन, दरबार ध्वस्त भएर संरचना अलपत्र छ, यस्तो धरापमा भक्तजनलाई कसरी पूजाअर्चनाका लागि अनुमति दिने ?” मन्दिर क्षेत्र धराप भएकाले भक्तजनलाई पूजा अर्चनाका लागि रोक लगाइएको भट्टराईको भनाइ छ ।

भूकम्पको झट्काले गोरखा दरबार क्षेत्रभित्र रहेको पशुपति मन्दिर, गुहेश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाईँपाटी र बडादसैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटी पूर्णरुपमा ध्वस्त भएको छ । साथै उपल्लोकोटमा रहेको वज्र भैरवको मन्दिर, कोटकालीको मन्दिर र तल्लो कोटकालीको मन्दिर भत्केर ध्वस्त भएको दरबारका पुजारीले जनाएका छन् ।

दरबारअन्तर्गत रहेको बिरिमकाली मन्दिर, आरुघाटको भीमसेन मन्दिर, पदेलीथोकको भीमसेन मन्दिर, बोर्लाङको भीमसेन थापाको पालाको सत्तल, मण्डलीथान मन्दिरलगायत ऐतिहासिक महत्वका मन्दिर तथा संरचना ध्वस्त भएपछि भक्तजनले पूजाअर्चना गर्न पाएका छैनन् ।
दरबार, गुफाको पुनःस्थापना र मर्मत गर्दा पूजा गरिँदै आएको स्थान परिवर्तन गरेर भए पनि दैनिक पूजा गर्न पुजारीले तयारी गरेका छन् ।

भूकम्पपछि मन्दिर तीन इन्च तल भासिएको छ । दरबार क्षेत्र वरपर रहेका ढुङ्गाका पर्खाल भत्केको छ । गोरखा दरबारको आँगन भासिएको छ । डाँडाको टुप्पोमा रहेको दरबारका चट्टान पनि चोइटिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>