समाचारआइतबार, जेठ ३, २०७२
सैनिकको शव ल्याइयो, सनाखत हुँदै
सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी मरिन कर्पस्को हेलिकप्टरमा सवार आठै जनाको शव राजधानी ल्याएर सनाखत थालिएको छ ।
पहिचानपछि नेपाली सैनिकको शव त्रिवि शिक्षण अस्पतालमा शल्यपरीक्षण गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा राखिने र ४ जेठमा दाहसंस्कारका लागि गृह जिल्ला पठइनेछ भने अमेरिकी सैनिकको शव लैनचौरस्थित अमेरिकी केन्द्रमा राखिने र त्यसपछि अमेरिका पठाइने नेपाली सेनाले जनाएको छ ।
दुर्घटनामा ६ अमेरिकी सैनिकसँगै नेपाली सैनिक दैलेखको नारायण नगरपालिका–. ८का सह–सेनानी तपेन्द्र रावल र दार्चुलाको शिखर गाविस– ३ निवासी जमदार वसन्त तितराको पनि निधन भएको थियो ।
प्रधानसेनापति गौरव शम्शेर जबराले कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाका अधिकारी र अमेरिकी सेनाका वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
छानबिन टोली गठन
उक्त हेलिकप्टर दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाले चालक सहायक रथी सुधीर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ ।
उक्त टोलीले छानबिन प्रारम्भ गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
रासस
