समाचारमंगलबार, कार्तिक २१, २०६९
राष्ट्रपतिद्वारा दलहरूलाई नयाँ चुनावमा जान आग्रह
२० कार्तिकमा लमजुङको दुराडाडाँस्थित सर्वोदय उमाविको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले प्रमुख दलहरूलाई सहमति गरी नयाँ चुनावमा जान आग्रह गरेका हुन् ।
देशमा पटकपटक भएका राजनीतिक परिवर्तन संस्थागत हुन नसकेकाले देशको प्रगति हुन नसकेको स्पष्ट पार्दै उनले प्रमुख राजनीतिक दलका नेतृत्वको त्रुटिले गणतन्त्रसमेत संस्थागत हुन नसकेको गुनासो गरे ।
विसं ०६२/६३ को आन्दोलनको बल नै दलहरूबीचको सहमति भएको स्मरण गराउँदै राष्ट्रपति यादवले फेरि पनि दलहरू मिल्न नसके देशले अरु धेरै दुर्भाग्य ब्यहोर्नुपर्ने भएकाले मिलेर सविधान निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।
आपूmले कुनै कदम चाल्न नखोजेको स्पष्ट पार्दै राष्ट्रपतिले आफूले दलहरूको सहमति पर्खेर बसेको बताए । संविधानसभाबाट देशको मूल कानुन निर्माणमा दलहरू चुके पनि अब पुनःनिर्वाचन गरी संविधान निर्माणमा लाग्नेछन् भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।
अबको निकास भनेको नयाँ निर्वाचन नै भएकाले त्यसतर्फ लाग्न राष्ट्रप्रमुखको नाताले आफूले दलहरूलाई पटक–पटक घच्घच्याएको राष्ट्रपति यादवले स्मरण गराए ।
विद्यालयका पूर्वविद्यार्थीहरुको करिब रु २ करोड सहयोगमा पुनःनिर्मित सर्वोदय उच्च माविको भवनको राष्ट्रपतिले उद्घाटन गरेका थिए ।
